२०८० को उपनिर्वाचन नेपाली राजनीतिक इतिहासकै सबैभन्दा रोचक निर्वाचन बन्न पुगेको छ । एकातिर "मै हूँ" भन्ने ठुला राजनीतिक दलहरुको हावा खुस्किँदैछ भने अर्कोतिर भर्खरै जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले सबैलाई अचम्मित पार्दै छन् । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायमै छ । लामिछानेले ३१६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले भने १७१६ मत मात्र प्राप्त गरेका छन् । १२४१ मत प्राप्त गर्दै नेपाली काङ्ग्रेसका जित नरायण श्रेष्ठ भने तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी तनहुँ-१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । १९३४९ मत प्राप्त गर्दै रास्वपाका स्वर्णिम वाग्ले शिर्ष स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकाँका गोविन्द भट्टराई ११२७९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले भने ६१५१ मत प्राप्त गरेका छन् ।