
✍️बिकाश काफ्ले
साझपख अचानक आकाश रिसाएर गमुक्क पर्दै पर्ल्याक, पुर्लुक आँखा फर्काउदै जोडले गाली गर्दै ,कराउँन सुरु गर्यो। केहि दिन अगाडि नै चट्यान लागेर केहि ब्याक्तीको मृत्युको समाचार सुनेकि थिएँ। हिजो पनि खुब चड्कन बजारे जस्तो आवाज आयो। कता,कता क -कसलाई चड्कायो, चड्काएन थाहा भएन तर मलाई पनि चड्काउने पो हो कि भनेर खुब डर लाग्यो र केहि हदसम्म मनलाई सान्त्वना दिन लुरुक्क कोठातिर पसेँ। आखिर जिन्दगीमा मृत्यु भन्दा डरलाग्दो चिज के नै रहेछ र ?
केहि छिनमै आकाश कराँउदै, रुँदै गर्न थाल्यो। एकान्त कोठामा मन चसक्क भयो। मनमा अनेकौं अनुत्तरित प्रश्नहरुको आगमन भयो। के हुँदैछ मानब जगत ?कहिलेसम्म रहला यो अवस्था ?कहिले प्राकृतिक बिपत्ती त कहिले माहामारी अझै कतिन्जेल कति र को-को मर्ने ? खै कस्तो अपराध भएछ हामीबाट? लाखौं हारिसके र गुमाइसक्यौँ ,कैयौं जुध्दै छन कोरोना नामक शत्रुसङ्ग कतिले हराए पनि कोरोनालाई र बाँकी बन्द कोठाभित्र कैदिको जस्तो जिवन बिताउन बाध्य छौँ ! अपराध गरेर जेल बसेको कैदीलाई बरु रिहाई हुने निश्चित समय तोकेको हुन्छ तर हाम्रो सजाय अनिश्चित छ ! मात्र महसुस गरेको छ मनले बाँच्न पाउनु नै अहो भाग्य रहेछ, के नै रहेछ र आखिर यो जिन्दगी? अझै किन गर्छ्न मान्छेहरु तेरो,मेरो भन्दै खुट्टा तानातान ?अनि कहाँ के गर्दै होलान् कस्तो अवस्थामा होलान् अंग भङ्ग भएर चोकचोकमा थाली थापेर अरुले दिएको 2,4 पैसाले पेट भर्नेहरु ? मन छट्पटिएको छ ,तडपिएको छ तर गर्न सक्ने अवस्था केहि छैन। जति समय बित्यो उति आतंकित बनेको छ परिस्थिति। अझै कहिले सम्म रहला यो अवस्था? महिनौँ हुँदै ,6 महिना बर्ष दिनसम्म रहयो भने यो अवस्था कति पुग्ला मृत्युदर ?कति पुग्लान संक्रमित सङ्ख्या ? खाने के ,गर्नेे के, यो भयावह परिस्थितिसङ्ग जुध्ने कसरी ? सम्झिदा पनि भकानिन्छ मन ,अतालिन्छ मन।
जिन्दगी फुलाउने ,परिवारलाई खुशी दिने ,आमालाई हँसाउने, कैयौं सपनाहरुका बाढि बोकि जिन्दगीलाई पैसासङ्ग धितो राखी बिभिन्न देशहरुमा संघर्ष गर्न नेपाली आमाका लाखौं सन्तानहरु पुगेका छन। तर आजको यो अवस्थाले परिवार कता ,आफु कता र सपना कता बनाएको छ। दुखमा परिवार र आमाको काख भन्दा उत्तम स्थान अरु कहाँ नै हुन्छ र? मन कस्लाई हुँदैन परिवारको साथमा रहन, दुनियाँ ठप्प छ, न घर जाने आधार छ, न समयको निश्चित छ? मन गाँठाे पार्दै बन्द कोठाभित्र आफुलाई सम्हाल्दै परिवारलाई सम्झाउदै आत्मबल बलियो बनाउनु बाहेक के नै छ र अर्को उत्तम विकल्प ? पिडा सबैलाई छ अझ घरजग्गा,गरगहना धितो राखेर सुनौलो भबिस्यको परिकल्पना गर्दै भर्खर,भर्खर प्रदेशिने विद्यार्थी र अन्य ब्याक्तित्वहरुको मनस्थितिमा झन कति असर परेको होला ? ऋणको भारीले भन्दा अझ बढी पिडाको भारीले थिचेको छ होला । के -कसरी गुज्रिएको छ होला उनिहरुको दैनिकी ?
यति महिना यो काम गरेर यसरी ब्याबस्थापन गर्छु भन्ने योजना अवस्य हामी सबैको हुन्छ । कसले सोचेको थियो र आउला भनेर यो भयावह परिस्थिति र जाइलाग्ला भनेर यो खतरनाक शत्रु? कतिपय नेपालीको कोरोनाको कारणले प्रदेशमै मृत्यु भएको खबर सुनिएको छ। कमाउन गएको छोरा ,श्रीमान ,बुवा रोगको शिकार बनि मुर्दा बनेको खबरले परिवारको हालत के होला ? कति चोट लागेको होला मन मस्तिष्कमा ? के गर्नु परेपछि जे पनि भोग्नैपर्ने यो नियतिको खेल यस्तै रहेछ। बिदेशमा मात्र होइन आफ्नै देशमा पनि विद्यार्थीहरुले बोक्नुपरेको छ कैयौं समस्याका भारीहरु। बन्द कोठाभित्र घरबाट अडकलेर लगेको खर्च ,मनभित्र रोगको त्रास यो अवस्थाको सामना, घर जाने समय नमिल्नु गाडी नपाएर अलपत्रमा परेका कैयौं छन।खुब सोच्छु के होला भबिस्य?पुरा होला कि नहोला सपनाहरु? यो समयले के बनाउला ?फेरि सम्झाउछु आफैलाई पहिला हामी सबै संयमित भएर बाँच्नुपर्छ ,जिन्दगी रहयो भने समस्याहरुसङ्ग त डटेर जुध्नुपर्छ।
सम्पन्न हुनेहरुले त महिनौलाई पुग्ने खानाको जोहो पहिले नै गरिसकेको हुन्छन तर दिउँसो काम गरेर साँझ,बिहान छाक टार्ने मजदुरहरुको अवस्था कस्तो भएको होला ? यो अवस्था, समयले ल्याएको परिस्थिति कहिले भुकम्पको कारण भागाभाग गर्नुपर्ने ,कहिले रोगसङ्ग बच्न घर भित्र लुक्नुपर्ने ,संबेदनसिल बनेर सोच्न थाल्यो भने फनफनी रिंगटा लाग्छ । लाग्दा रुघाखोकी, आउँदा ज्वरो ,म सम्म आयो कि कतै कोरोना भन्दै मन झसङ्ग हुन्छ। सबै ठाँउमा यस्तै छ त भन्दिन कतिपय स्वास्थ्यसंस्थामा अझै पनि अस्पताल जाँदा परबाट छोइन्छ कि जसरी औसधि दिएको देखिन्छ फेरि प्रश्न गर्छ आफैसङ्ग आफ्नै मनले,साच्चै यस अवधीमा अन्य बिरामीहरुको उपचार कसरी भैरहेको होला ? पहिला जस्तो सहज रुपमा भएको छ कि छैन होला ? सबै प्रकारका बिरामीहरुले स्वास्थ्य सुबिधा पाएका छन कि छैनन होला ? कतै अकालमै उपचार नपाएर ज्यान गुमाउनु पर्ने त होइन ? कर्णाली जस्ता बिभिन्न बिकट ठाँउहरुमा त्यहाँका जनताहरुको स्वास्थ्य परिक्षणको अवस्था कस्तो होला ?
सुनिन्छ यहाँबाट राहत स्वरुप यति प्राप्त भयो ,यो ब्यक्तीले यति सहयोग गर्नु भो। सम्पुर्ण सहयोगी मनहरु प्रती सलाम छ। यस्ता बिपत्तिमा अवसर सम्झेर राहत स्वरुप आएको रकम भित्रभित्र शोषित नहोस् । यो सहयोग बढी प्रभाबित जो-जो हुनुहुन्छ, सम्बन्धित ब्यक्तिहरुको हातमा परोस्। बडाे अचम्म लाग्छ त्यस्ता तस्बिरहरु सामाजिक संजालमा देख्दा, सहयोगको बहाना बनाएर छोरीको बिहेमा कन्यादान दिँदा माइती पक्षका सबैले हात छोएर दिए जसरी 2,4 किलो चामल दाल 10,15 जनाले छोएर हस्तान्तरण गरियो भन्दै पोस्टयाएको देख्दा! तर राहत ग्रहण गर्ने व्यक्तिको अनुहारमा प्रष्ट बादल लागेको देखिन्छ। राहत भन्या त दुखेको घाउमा मलम बन्नु पर्ने होइन र ? तर यहाँनेर त घाउलाई उल्टाे नुनचुक दलेर झन बल्झाए जस्तो लाग्यो।