कपिल अधिकारी
रुपन्देही, ३ फागुन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेश वासीलाई नमूना राजधानी शहर हस्तान्तरण गर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशको छैटौँ स्थापना दिवसको अवसरमा बुधवार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा गिरीले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना शहरका रुपमा विकास गर्ने योजना सहित सरकारले काम गरिरहेको बताए । उनले भने, “आगामी ५ वर्ष भित्र प्रदेश वासीलाई सुन्दर र नमूना राजधानी शहर हस्तान्तरण गर्नेछौँ ।”
मुख्यमन्त्री गिरीले ‘समृद्ध प्रदेश, आत्मनिर्भर जनता’ को अभिभारा पूरा गर्न लागिपरेको भन्दै सरकारको अभियानमा जोडिन सबैलाई आग्रह गरे । “मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमूना प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको छ”, उनले भने, “हामी जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ, नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौँ ।”
सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँच वर्ष उपलब्धीमूलक रहेको बताउँदै मुख्यमन्त्री गिरीले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको स्पष्ट पारे । प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामकरण टुङ्गो लगाएको बताउँदै सङ्घीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीव्ररुपमा अगाडि बढाउने बताए ।
कार्यक्रममा प्रदेशको कला संस्कृति झल्कने विभिन्न जातजाति, समुदायका सांस्कृतिक कार्यक्रमसहितका झाँकी प्रस्तुत गरिएका थिए । प्रस्तुत झाँकीअन्तर्गत दाङ घोराहीको मगर महिला समुदायको भुम्या नृत्य प्रथम, राप्ती गाउँपालिका(३ मगर समुदायको पञ्चेबाजा समूह द्वितीय, थारु समुदायको बड्का नाच तृतीय स्थान हासिल गरेका छन् । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेशमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ ।
यादवलाई सङ्घीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पु¥याएको भन्दै विभूषित गरिएको हो ।
यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डा मोहिउद्दिन किदवाई र डा राजन पाण्डेलाई विभूषित गरिएको छ । डा किदवाईलाई नेपालमै अधिक शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा रहेको सिकलसेल एनेमिया र थाले सिमियासम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउन अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको थियो ।













