माघ २०,पाल्पा निस्दी
निस्दी गाउँपालिकामा ४ दिने हेफर आधारशीला तालिम सम्पन्न भएको छ । निस्दी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा जनविकास तथा परिचालन केन्द्र नेपालको सहजिकरणमा निस्दी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत निस्दी (४ मित्यालका २ उद्यमशील युवा समूहलाई हेफर आधारशीला तालिम दिएको थियो।
परियोजना अन्तर्गत निस्दी ४, मित्यालमा गठित मित्याल र लेकवेशी उद्यमशील युवा समुहलाई माघ १३ देखि १६ सम्म निस्दी ४, झ्यालटुङ्गमा तालिम संचालन भएको थियो ।
निस्दी गा.पा. वडा नं ४ का कृषि र पशुपालनमा आवद्ध करिब ४०जना युवा उद्यमीहरुको सहभागीतामा माघ १३ गते तालिमको उद्घाटन् भएको थियो ।
स्व.नेतृत्व, सकारात्मक सोचको विकास, समाजका बिभिन्न मूल्य मान्यताहरु र उपहार प्रदान, उत्तरदायित्व हुँदै आध्यात्मिकता सम्म १२ वटा आधारशिलाहरु तालिमका मुख्य विषयवस्तुहरु रहेका थिए । परियोजनाले निस्दी गाउँपालिकाका २ सय जना युवाहरुलाई १० वटा समूहहरुमा संगठित गरि उनीहरुलाई कृषि तथा पशु उद्यम तथा सिप विकासका क्षेत्रमा आकर्षण र उत्प्रेरित गर्न सुरुवात देखि नै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
भोकालाई एक छाक भोजन होइन जीवन जिउने जुक्ति सिकाऔं भन्ने मुख्य उद्देश्यले मुल्यमा आधारित सर्वाङ्गिण सामुदायिक विकास पद्दति मुटुको रुपमा रहेका १२ वटा विभिन्न मूल्य मान्यताहरुलाई हेफरले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा प्रयोग गर्दै आएको छ, जसलाई न्यायोचित तथा दिगो विकासका लागि हेफरका आधारशिलाहरु पनि भन्ने गरिन्छ । यिनै आधारशिलाहरुलाई समेटेर तयार पारिएको हेफर आधारशिला तालिमले समूह सदस्यहरुको चेतना अभिवृद्धि गराई उद्यमशीलता तर्फ उन्मुख हुन प्रेरित हुने लक्ष्य रहेको परियोजना संयोजक बिपनि आर्यालले बताए ।
सहभागी युवाहरुले उक्त तालिम लिन पाउँदा गाउँपालिका र साझेदार संस्थाहरु प्रति धन्यवाद ज्ञापन गर्दे खुसि व्यक्त गरेका हुन् । तालिमबाट प्राप्त ज्ञान सिप व्यवहारमा लागु गर्ने प्रतिवद्धता समेत सहभागीले गरेका छन् । निस्दी ४ वडा अध्यक्ष सन्तवीर सुनारीको प्रमुख अतिथी एवं वडा सदस्य रन बहादुर गाहाको आतिथ्यतामा तालिम समारोहका विच कार्यक्रम समापन भएको थियो । तालिम निकै प्रभावकारी भएको विश्वास व्यक्त गर्दै युवाहरुलाई आफ्नो उद्यमप्रति प्रतिवद्ध हुन थप हौसला प्रदान हुने प्रमुख अतिथी सुनारीले बताए ।
४ दिने तालिमको मुख्य सहजीकरण परियोजनाका युवा संयोजक गणेश दर्लामीले गर्नुभएको हो ।













