माघ १९,पाल्पा । बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिकाको आयोजान र बगनासकाली पत्रकार समूहको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले गाउँपालिकाको आर्थिक वर्ष २०७८,०७९ र आर्थिक वर्ष २०७९,०८० को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । घर्तीले गाउँपालिका, वडा कार्यालय र पालिका अन्तरगतका विभिन्न विषयगत समितिले सम्पादन गरेका कामहरु र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सेवाग्राहीहरुले बगनासकाली गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकका अपेक्षा लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए । सेवाग्राहीहरुले बाँदर समस्या बढ्दै गएको, कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्न नसकेको, नदीजन्य पदार्थहरुको निकासीमा भएको प्रक्रिया, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले सोचेजस्तो प्रगति नदेखिएको, गाउँ गाउँमा बर्थिङ सेन्टर रहेपनि उचित जनशक्ति र उपकरणको अभावमा ज्यादै न्युन संख्यामा मात्रै सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउने गरेको लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए ।
सेवाग्राहीहरुको जिज्ञाशा जवाफ दिदै गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने विषयमा पालिका सम्वेदनशील रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत टोलमै सेवा, बिभिन्न लोककल्याणकारी कार्यक्रमहरु पालिकाको प्रमुख महत्वभित्र रहेको बताउनुभयो । उहाँले नागरिकलाई सहज सुविधा दिने कुरामा बगनासकाली गाउँपालिका निरन्तर लागिपरेको बताउनुभयो । अध्यक्ष चिदीले सार्वजनिक सुनुवाईमा उठेका विषय आएका सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अगाडि बढ्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले जनताका गुनासोलाई यथासिघ्र संवोधन गरिने बताउनुभयो । उहाँले आफूहरु साझा प्रतिनिधिको रुपमा रही जनताको असल सेवकको रुपमा लागिपरेको बताउनुभयो । उपाध्यक्ष पाठकले गाउँपालिकाका विकास निर्माणलाई थप प्रवावकारी बनाउन भूमिका खेल्ने बताउनुभयो ।
सेवाग्राहीहरुले उठान गरेका विषयहरुमा गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती सहित वडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा बगनासकाली पत्रकार समूहका सचिव बिष्णु प्रसाद घिमिरेले सार्वजनिक सुनुवाईका क्रममा संकलन गरिएको नागरिक अभिमत र सेवाग्राहीहरुको अभिमत्रपत्रको सार प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बगनासकाली पत्रकार समूहका उपाध्यक्ष भोजराज तिमिल्सिना र सहसचिव नेत्र गैरेले गर्नुभएको थियो । कार्यक्रम समूहका अध्यक्ष दिपक ढुङ्गानाको अध्यक्षतामा चलेको थियो ।













