काठमाण्डौ – गृह मन्त्रालयले एक परिपत्र जारी गर्दे दर्ता नभएका र नवीकरण नगरिएका देशभरका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले यो परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा त्यही आयोजनाका लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडालगायतको उत्खननको अनुमति प्राप्त उद्योगीरनिर्माण व्यवसायीले आयोजना समाप्त भएपछि पनि त्यस्तो उत्खनन गरिरहेको भए त्यो समेत छानबिन गरी तत्काल बन्द गर्न परिपत्रमा भनिएको छ ।
गृह प्रवक्ता पोखरेलले अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन गरिरहेका उद्योग फेला परेमा बन्द गरिने जानकारी दिनुभयो ।













