पाल्पा १५, पुस
राष्ट्र बैंकको निर्देशिका विरुद्ध पाल्पाका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायीहरुले राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले कार्तिक १ गते देखि लागु गरेको निर्देशका र उद्यमी व्यवसायीहरु प्रति गरेको अव्यवहारीक नीतिकाविरुद्ध आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आन्दोलन स्वरुप आज देखि तानसेनको शित्तलपाटीवाट हस्ताक्षर संकलन कार्यक्रम समेत सुरु गरेका छन् ।
पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको हस्ताक्षर संकलन कार्यक्रममा सार्वजनिक विज्ञप्तीमा कोरोना महामारी पछिको विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाले ब्याज तथा किस्ताकालागि दबाब दिएर ज्यादती गरेको र उद्योगि व्यवसायी प्रति अनुत्तरदायी बनेको भन्दै त्यसकाविरुद्ध आन्दोलन सुरु गरेको उल्लेख छ ।
यस्तै यस आन्दोलनमा लुम्बिनी प्रदेशभित्र रहेका सबै उद्योग वाणिज्य संघहरुले पनि ऐक्यबद्धता जनाएको उल्लेख गर्दै राष्ट्र बैकको निर्देशिकाले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनीहरुले आजदेखि साप्ताहिक रुपमा बिरोधका कार्यक्रम अगाडी बढाउने गरी आन्दोलन सुरु गरेका छन् ।
जसअन्तर्गत आज पुष १५ देखि २१ गतेसम्म सेतो कपडामा बैंकको ज्यादती विरोध एकेवद्धताको लागि प्रत्येक उद्योग वाणिज्य संघले हस्ताक्षर गरी सो कपडा नेपाल सरकार र राष्ट्र बैंकमा बुझाउने हस्ताक्षर कार्यक्रम रहेको छ ।
पौष १७ गते बिहान ११ बजे सबै उद्योग वाणिज्य संघले कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने।
पौष १८ गते सबै उद्योग वाणिज्य संघले जनप्रतिनिधी र सबै वैंकका प्रमुखहरु राखेर व्यवसायिक वातावरण नभए सम्मकालागि व्यवसायलाई आतंकित नबनाउनका लागि छलफल गर्ने । पौष १९ गते राष्ट्र बैंक रहेको ठाउँमा तथा राष्ट्र बैंक नभएको ठाउँमा जिल्ला प्रशासन कार्यलयमा कालोपट्टी बाँधेर २ घण्टे धर्ना कार्यक्रम गर्ने । पौष २० गते सबै प्रदेशका उद्योग वाणिज्य संघहरुसँग समन्वय गरी काठमाडौं केन्द्रित कार्यक्रमको तयारी गर्ने ।
पौष २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।














