पाल्पा १४ पुस ।
बगनासकाली गाउँपालिका वडा नं.३ नायरनमतलेसको अपांग गाउँ समन्वय समितिको आयोजनामा वडा रहनुभएका फरक क्षमता भएका ब्यक्तिहरुलाई न्यानो ब्ल्याङकेट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच वडाभित्र रहनुभएका ३५ जना फरक क्षमता भएका ब्यक्तिहरुलाई ब्ल्याङकेट वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले गाउँपालिकाले ग र घ वर्गको परिचयपत्र बाहक अपाङ्गता भएका व्यक्तिहरुलाई यसै वर्ष देखि निर्वाह भत्ताको व्यवस्था गरेको बताउनुभयो । चिदीले हरेक ६ महिनामा वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिने तयारी भएको समेत जानकारी गराउनु भयो ।
अध्यक्ष चिदीले बगनासकाली गाउँपालिकामा आफूहरु निर्वाचित भएर आए लगत्तै बिभिन्न लोक कल्याणकारी कार्यक्रमहरुलाई महत्व दिदै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । पालिकाले यसै वर्षदेखि वडावडामा पुगेर भत्ता वितरण गर्न थाले पछि जेष्ठ नागरिक सहित अन्य लाभग्राहीलाई धेरै सहज भएको पनि बताउनुभयो ।
नायर नमतलेसका वडा अध्यक्ष तथा बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले वडाले सबै लक्षित समूहका लागि बजेट बिनियोजन गरेको र लक्षित समूहहरुले कार्ययोजना बनाई कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले फरक क्षमता भएका ब्यक्तिलाई चिसोको मौसममा न्यानो भई बस्नको लागि यसरी न्यानो कपडा वितरण गरिएको बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका कार्यपालिका सदस्य तेज प्रसाद रसाइली, नेकपा एमालेका नेता मोहन थापा मगर, सिद्धि माविका प्रअ धुव्र न्यौपानेले लक्षित समूह मध्ये धेरै सहयोगको आवश्यकताको महसुस हुने फरक क्षमता भएका ब्यक्तिहरुलाई यसप्रकारको सहयोगले धेरै राहत मिल्ने बताउनुभयो । उहाँहरुले फरक क्षमता भएका ब्यक्तिहरुको बर्गीकरणको आधारमा सीप सिकेर सीप अनुसारको काम गर्न सक्ने अवस्था भएकाहरुलाई स्थानीय सरकारले सीप सिक्ने वातावरण मिलाउनु पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले फरक क्षमता भएका ब्यक्तिहरुले अहिले पनि पारिवारिक तथा सामाजिक रुपमा धेरै समस्याहरु भोग्नुपरेको बताउनुभयो । उहाँले फरक क्षमता भएका ब्यक्तिहरुको क्षमता अनुसार प्रवर्धन गर्दै उनीहरुलाई आयआर्जन तर्फ जोड्नेमा स्थानीय सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने वताउनु भयो ।













