पाल्पा,१३ पुस
माथागढी गाउँपालिका र ब्रिटिस काउन्सिलको संयोजनमा माथागढी गाउँपालिका भरिका ४५ वटा बिद्यालयमा क्यू ई क्यु एस कार्यक्रम लागु भएको छ ।
गाउँपालिकाले २०७९ साउनबाटै पालिका भरिका बिद्यालय तथा बिद्यार्थीहरुलाई अंग्रेजी भाषामा गुणस्तरियता कायम गर्न पालिका र काउन्सिल मिलेर कार्यक्रमको सुरुवात गरेको बुधबार तानसेनमा आयोजीत कार्यक्रमका विच जानकारी दिइयो ।
कार्यक्रमले पालिका भरिका अंग्रेजी तथा अन्य बिषयका बिषयगत शिक्षकहरुलाई तालिम दिएको हो । शिक्षण सिकाई बिकासकोलागी अंग्रेजी शिक्षकको सीप बिकास कम्तिमा पनि बि वन लेवलको हुनुपर्ने हुन्छ । शैक्षिक गुणस्तर तथा बिद्यार्थीको शैक्षिक स्तर बृद्धिमा यस कार्यक्रमले सहयोग गर्ने पालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । अध्यक्ष चिदीले यो कार्यक्रम लागु भएका स्थानीय तहको निरीक्षणपछि माथागढी गाउँपालिकाले यो कार्यक्रम ल्याईएको जानकारी गराउनु भयो ।
माथागढी गाउँपालिकाको ५७ प्रतिशत र ब्रिटिस काउन्सिलको ४३ प्रतिशत लगानीमा कार्यक्रमको सुरुवात गरिएको ब्रिटिस काउन्सिल अंग्रेजी कार्यक्रमका प्रमुख भोगेन्द्र लामिछानेले बताउनुभयो । लामिछानेले यस भन्दा पहिला यस्तै कार्यक्रम कावासोती नगरपालिका, वालिङ्ग नगरपालिका र पुतलीबजार नगरपालिकामा गरेको र त्यसको नतिजा राम्रो आएको बताउनुभयो ।
यो कार्यक्रम लागु भएका अन्य स्थानीय तहमा निजी बिद्यालयका बिद्यार्थीहरु सामुदायीक बिद्यालय तर्फ आकर्षित भएको, सामुदायीक बिद्यालयमा अंग्रेजी बिषयमा फेल हुने बिद्यार्थी उत्तिर्ण हुने गरेको र सामुदायीक बिद्यालयले निजी बिद्यालयसंग प्रतिशप्रर्धा गर्न सक्षम भएको पार्इएको कार्यक्रम प्रमुख लामिछानेले बताउनुभयो ।
माथागढी गाउँपालिका वार्ड न १ का वार्ड अध्यक्ष राजकुमार पन्थीले पालिकामा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अनुभब भएका जनप्रतिनिधी आएकाले पालिकाले स्वास्थ्य तथा शिक्षामा फड्को मार्ने बताउनुभयो । पन्थीले शैक्षिक क्षेत्रको लगानी तत्काल नदेखिने भएकाले यसको नतिजा आउन केही समय कुर्नुपर्ने धारणा राख्नुभयो ।
यो कार्यक्रम माथागढी गाउँपलिकामा ३ बर्षसम्म लागु हुने गाउँपालिकाले जनाएको छ ।













