पाल्पा, ९ मंसिर
पाल्पा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ पाल्पामा नेकपा एमालेका नारायण प्रसाद आचार्य निर्वाचित हुनु भएको छ । भर्खरै सकिएको मतगणना अनुसार आचार्यले आफ्ना प्रतिस्पर्धी गठबन्धन बाट कांग्रेसका उम्मेद्वार ज्ञान बहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालय रामपुरका अनुसार आचार्यले सदर मत मध्ये ३१ हजार १ सय ३ मत प्राप्त गरेका छन् । आचार्यका प्रतिस्प्रर्धी गाहाले २० हजार २ सय ५६ मत ल्याएका हुन् । क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार आचार्यले मत गणनाको सुरुवात देखि नै अग्रता कायम राख्दै जित सम्म नै अग्रता कायम गरेका थिए। पाल्पा क्षेत्र नं.१ मा कुल खसेको मत ५८ हजार ४ सय ९१ थियो ।
आचार्य र गाहा सहित क्षेत्र नं. १ मा ६ जना दल र ४ जना स्वतन्त्र उम्मेद्वार गरी १० जना प्रतिस्पर्धामा रहेका थिए । स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८ सय ६३ मत, मंगोल नेशनल अर्गनाईजेशनका थमन बहादुर बुढा मगरले २ हजार ४५, राप्रपाका ज्ञान बहादुर सिंजालीले २५८ मत, राष्ट्रिय जनमुक्ती पार्टीका उजर सिं दर्लामीले १२१ मत, जसपाका मेहरमान रानाले ८७ मत, स्वतन्त्र उम्मेद्वारहरु राजु सुनारले ६८, नारायण न्यौपानेले २७ र डोलराज तिमिल्सिनाले १० मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरी प्रमाण पत्र प्रदान गरेको निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले जानकारी दिए।













