सुमन कार्की
पाल्पा ९ कार्तिक । पछिल्लो समय पाल्पाली घरेलु महिलाहरुको आम्दानीको राम्रो श्रोत बनेको छ झिनिया अर्थात सिन्के रोटी। झिनिया बेचेर अहिले पाल्पाका ब्यापारीहरुले लार्खौ रुपैया कमाउन सफल भएका छन् । अहिले यहाँका उत्पादकहरुले उत्पादन गरेका झिनिया छिमेकी जिल्ला रुपन्देही, पोखरा, काठमाण्डौ लगाएतका स्थानमा बिक्री हुने गरेको छ । कम लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले पनी यहाका स्थानिय झिनिया उत्पादनमा सक्रिय भएर लागेका हुन् ।
माथागढी ३ सराईका यादव भट्टराई १७÷१८ वर्ष बिदेशी भुमीमा पसिना बगाएका अहिले आफ्नै गाउँठाउमा झिनियाको ब्यापारबाट दंग भएका छन् । घरै वसी बसी सानो लगानीवाटै राम्रो आम्दानी हुने हुदा उनी खुशी देखिन्छन् । बिदेशी भुमीमा पसिना बगाउनु भन्दा आफ्नै माटोमा घर परिवार संगै बसेर सानो ठुलो आय आर्जनको काम गर्दा सन्तुष्टी मिल्ने यादव भट्टराई बताउछन् ।
दर्जनको १२० रुपैया देखी १५० रुपैया सम्ममा यहाका ब्यापारीले झिनिया बेच्ने गरेका छन् । पाल्पाका उत्पादकले उत्पादन गरेका झिनिया बढी स्वादिला हुने, राम्रोसंग फुर्ने भएकाले पनी टाढा टाढाबाट झिनियाको माग हुने गरेको छ । राधिका बस्याल माथागढी ३ सराई
राम्रोसंंग काम गर्ने हो भने झिनियाको ब्यापारबाट एउटा परिवार सजिलै पाल्न सकिने ब्यापारीहरु बताउछन् । बिशेष गरी चाडपर्बका बेला बढी बिक्री हुने झिनियालाई अन्य समयमा पनी खाजाको रुपमा प्रयोग गर्न थालिएसंगै यसको ब्यापार बढेको हो । विगत २० वर्षदेखि झिनियाकै व्यवसाय गर्दे आएको माथागढी ३ सराईकी केशलक्ष्मी भट्टराई वताउनु हुन्छ । सुरुवातीमा ३ देखि ५ रुपैया दर्जनमा बेच्दै आएको झिनिया अहिले आउदा साईज हेरेर ६० रुपैया देखि १ सय सम्म विक्री हुने गरेको भट्टराई वताउनु हुन्छ ।
चामलको पिठो पकाई मिसिनद्धारा सिन्के रोटी तयार गरिन्छ र तयार भएको रोटीलाई दुई तिन दिन सम्म घाममा सुकाएपछि बल्ल झिनिया तयार हुन्छ । तयार भएको झिनिया लामो समय सम्म सड्ने संभावना अत्यन्तै न्यून हुन्छ, झिनियालाई आकर्षक बनाउनको लागी खानयोग्य रंग समेत राखेर रंगीन पनि वनाइन्छ । यसले स्वास्थ्यमा कुनै हानी नोक्सानी नगर्ने हुनाले पनि झिनियाको प्रयोग र माग अत्यधिक मात्रामा वढेको व्यवसायीहरु वताउछन् ।
कम लगानी, अलिकती मिहिनेतमा आफ्नो इच्छा अनुसार घिउ,तेलमा फुराएर तत्कालै प्रयोग गर्न सकिने भएकोले यसलाई वाह्रै महिना उत्पादन र विक्री गरेपनि भाई टिकाको अवसरमा वढि विक्री हुने तानसेन टक्सार निवासी व्यवसायी लक्ष्मी श्रेष्ठ वताउनु हुन्छ । पहिला पहिला विशेष गरि तिहारमा मात्र वढि विक्री हुदै आएको झिनिया आज भोली सवै समूदायमा प्रयोग मात्र नभई खाजा नास्ताको रुपमा पनि यसलाई लिने गर्न थालिएकोले यसको व्यापार वढी हुन थालेको हो । झिनिया वाटै वार्षिक ६ लाख सम्म आम्दानि गर्न सकिने व्यवसायीहरुको भनाई छ ।
सानो लगानीमा संचालन हुने यस्ता घरेलु उद्योगको बिकासमा तिनै तहका सरकारले योजना बनाएर काम गर्ने हो भने धेरै हद सम्म बेरोजगारीको समस्या समाधान गर्दे महिला स्वरोजगारको दरिलो माध्यम झिनिया बन्न सक्दे देखिन्छ । त्यसैले समयमै यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।











