सुमन कार्की
कार्तिक ७ ,पाल्पा
तिहार नजिकिदै जाँदा पाल्पाली ढाकाको व्यापार पनि बढ्दै गएको छ । तिहार पर्वका अवसरमा दिदी बहिनीले दाजुभाईलार्इ ढाकाका सरसमान उपहार दिने प्रचलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा वढि हुने गरेको हो । नेपालीको सान ढाकाटोपी हो हाम्रो पहिचान भन्ने भनाईलाई पनि पाल्पाली ढाकाले देश विदेशमा समेत नेपालीलाई चिनाई राखेको छ ।
यतिखेर तानसेनका ढाका पसलहरुमा दाजुभाईको लागी ढाकाको टोपि, आस्कोट, टाई, व्याग र दिदी बहिनीको लागी पछ्यौरा साडी, कुर्ता सुरुवाल, ब्याग, पर्स, लगायत उपहारका सरसमान किन्नेको भिड बढेको छ ।
विशेष गरि अरुवेला ढाकाको कपडा वा टोपी प्रयोग कम हुने गरेता पनि तिहारमा पछिल्लो समय ढाकाकै टोपी खरिद गर्ने गरेको स्थानिय ढाका पारखीहरु बताउछन् । टिका र मालाको साथ शिरमा ढाका टोपी लगाउदा नेपालीपन झल्कने हुदा पनि तिहारमा टोपीको प्रयोग बढि हुने गर्दछ भने तिहारको दिन दाजुभाईहरुले पनि आफ्ना दिदी वहिनीहरुलाई उपहार स्वरुप ढाकाका साडी,पछौरा, व्याग लगायतका सामाग्री दिने प्रचलन रहेको कारण पनि ढाका हरेक पाल्पालीको रोजाईमा पर्ने गरेको उपभोत्ता उमेश गैरे वताउनु हुन्छ ।
उपभोक्ताहरुको चाहाना अनुसार ढाकाको समानमा विविधिकरण भएपछि पाल्पा घुम्न आउने आन्तरीक र बाह्रय पर्यटकले ढाकाका सामाग्रीलाई उपहार र मायाको चिनोको रुपमा लैजाने गर्दा पनि ढाकाको ब्यवसाय दिनहु फस्टाउदै गएको हो । दशै देखि तिहार सम्म ढाकाका सरसमान बढि विक्री हुने भएकोले एक महिनामा ढाकाको व्यापार १ लाख देखि ५ लाख सम्म हुने गरेको व्यापारीहरुको भनाई रहेको छ । विशेष गरि तिहारको दिन टिकालाउदा दिदी वहिनीहरुले दाजुभाईलाई ढाकाटोपी लगाइदिने र दाजुभाईहरुले पनि दिदी वहिनीहरुलाई ढाकाकै साडी,पछौरी जस्ता सामान दिने हुदा पनि अन्य समय तुलनामा यतिखेर ढाका वढि विक्री हुने गरेको ढाका व्यवसायी ज्ञानु कार्की वताउनु हुन्छ।
अहिलेको समय भनेको विदा मनाउन आउने पर्यटकहरुको चाप वढ्ने र तिहार पर्व पनि नजिकै हुदा वाह्य पर्यकटहरुले समेत ढाका खरिद गरि लाने गरेको हुनाले ढाकाको व्यापार वढेको ढाका व्यवसायी प्रमिला कार्की वताउनु हुन्छ ।
तानसेनमा मात्र हाल करीब १० वटा ठुला ढाका उद्योग रहेका छन भने जिल्ला भरी नै घरेलु तान बाट ढाका बुन्ने संख्यामा दिनहु बढिरहेका छन । १ वटा पाल्पाली ढाका टोपिको मुल्य १ सय रुपैया देखी २५ सय रुपैया सम्म रहेको छ । अहिले सम्म घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा २४ वटा पाल्पाली ढाका कपडा उद्योग दर्ता भएका छन् जसमध्ये १९ वटा ढाका कपडा उद्योग क्रियाशील अवस्थामा छन् । हाल पाल्पाली ढाका उद्योगमा करीब ५ हजार जनाले रोजगारी पाएका छन् । ढाका बुन्ने कामदारहरुले मासिक ५ हजार देखि २५ हजार सम्म कमाइ हुने बताउछन् । गत बर्ष १० करोड रुपियाको हाराहारीमा कारोवार भएको पाल्पाली ढाका यस बर्ष १२ करोड सम्मको कारोवार हुने ढाका उद्योगीहरुको अनुमान रहेको छ ।
पाल्पा जिल्लामा पहिलो ढाका उद्यमीको रुपमा २०१५ सालमा एउटा तान बाट ढाका उत्पादन शुरु गर्नु भएको पूर्णमाया मर्हजनले अहिलेको समयमा व्यवसायीहरु वढे अनुसार व्यापार पनि वढ्दै गएको वताउनु हुन्छ । अन्य ढाकाको तुलनामा पाल्पाली ढाकानै सवैको रोजाई पर्ने गरेको मर्हजनको भनाई छ । पहिला पहिला तिहारको समयमा ढाका टोपी लाउने र उपहार दिने प्रचलन कमै मात्रामा देखिने गर्दथियो भने पछिल्लो समय ढाकाको प्रयोग वढ्दै गएसी तिहारको समयमा ढाका वढि विक्री हुने गरेको मर्हजन वताउनु हुन्छ । अन्य ढाकाको तुलनामा पाल्पाली ढाका राम्रो र आर्कषक देखिने हुदा पनि अहिले देशकै गौरबको रुपमा परिचित भएको छ । पाल्पाली ढाका जस्तै यस्ता घरेलु उत्पादनको लागी सरकारको सहयोग र प्रोत्साहन पाएमा मात्र स्वदेशी उद्योग फस्टाउने देखिन्छ ।











