पाल्पा ३,कार्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा पाल्पाबाट एक हजार २सय १५ म्यादी प्रहरी खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि भर्ना भएका एक हजार २ सय १५जना म्यादी प्रहरी पाल्पा जिल्लाको ११८ मतदान स्थल र २४६ मतदान केन्द्रमा सुरक्षाका लागि खटिने भएका हुन् । म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरी उनीहरूका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनु भयो ।
पाल्पाको तानसेन र रामपुरमा गरी दुई स्थानमा एकैसाथ १० दिने तालिम संचालन भइरहेको छ ।
निर्वाचनको सुरक्षामा खटिन पाल्पामा ३२३ महिला र ८९२ जना पुरुष गरी जम्मा १ हजार २ सय १५ जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मंसिर ४मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पाबाट २ हजार ६७ जनाले म्यादी प्रहरी हुनका लागि आवेदन दिएका थिए । प्रयोगात्मक र अन्तरवार्ता पश्चात छनौट भएकाहरुलाई अहिले तालिम दिइएको हो ।













