कार्तिक २ पाल्पा
पाल्पा – जिल्लाको तानसेन बजारका अधिकांश सडक व्यापारीको कब्जामा पुगेको छ । पछिल्लो समय पाल्पाको तानसेन,रामपुर लगाएतका क्षेत्रमा सडक कब्जा गरेर व्यापार गर्ने क्रम बढेको हो । विशेष गरी वजार क्षेत्रमा सडक पेटी नै कब्जा गरेर व्यापार गर्ने क्रम बढेको आगन्तुक तथा स्थानीय बासिन्दाको गुनासो छ । स्थानीय व्यापारीले सडकको आधी भाग कब्जा गरेर पसलमा सामान तथा खाद्य वस्तु बिक्री गर्न सामान फिजारेका छन् ।
तानसेन नगरपालिकालाई अटेर गर्दै ,यहाँका व्यापारी व्यवसायीले सडकमा बटुवा तथा सवारी साधन हिड्न् कठिन हुने गरि सडक कब्जा गरेर व्यापार गरेको पाइएको तानसेन नगर प्रहरीले जनाएको छ । बजार क्षेत्र भित्रै नगरपालिको नियमभन्दा बाहिर गएर केही व्यक्तिले सडकको पेटी बाहिर सामान निकाल्ने, घरको टप तथा छत बाहिर सम्म सामान झुण्डाउने, सडक तथा सार्वजनिक ठाउँ मिचेर व्यापार गर्न थालेको देखिन्छ । त्यस्ता अबैधानिक कार्य नियन्त्रण गर्न भनी नगरपालिकाले पटक पटक आग्रह गर्दा पनि व्यापारीहरु अटेरी भएको देखिन्छ ।
सडक कब्जा गरेर व्यापारीले मनपरी व्यापार गर्न थालेपछि तानसेन नगरपालिकाले सडक मिचेर राखिएका सामग्री तत्काल हटाउन सूचना जारी गरेको थियो । तानसेनको अधिकांश चोक तथा सडकमा सडक मिचेर पसल राख्ने क्रम देखिएकाले त्यसलाई हटाउन र नहटाएमा कानुन अनुसार कारबाही गरिने तानसेन नगरपालिकाले जनाएको छ ।














