पाल्पा १३, भदौ ।
नेकपा क्रान्तिकारी माओवादी पाल्पाका अध्यक्ष टेकबहादुर विक नेकपा एमाले प्रवेश गर्नु भएको छ ।
शुक्रबार एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, लुम्बिनी कमिटीका अध्यक्ष राधाकृष्ण कडेल, प्रदेश सचिवालय सदस्य नारायण आचार्य, पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतका नेताले अबिर र खादा लगाएर वि.क.लाई पार्टीमा प्रवेश गराउनु भएको हो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता गैरेले राष्ट्र र राष्ट्रियताको हितमा काम गर्ने पार्टी एमाले भएकोले अन्य पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नेको लहर चलेको बताउनु भयो । मुलुकको परिवर्तन चाहाने क्रान्तिकारीहरू एमालेमा संगठित भएर काम गर्न चाहेको उहाँले बताउनु भयो ।
पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा एमालेमय बनेको बताउनु भयो । उहाँले वि.क.लाई उचित जिम्मेवारी दिएर पार्टीका गतिविधिमा जोड्ने बताउनु भयो । आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको उहाँले बताउनु भयो ।
पार्टी प्रवेश गर्दै बिकले अब मुलुकको हितमा काम गर्ने एक मात्रै पार्टी एमाले भएको बताउनु भयो ।
आफूलाई क्रान्तिकारी भन्ने पार्टी र नेता अहिले व्यक्तिवाद र परिवारवादमा फसेको भन्दै एक मात्रै राष्ट्रवादी पार्टी एमालेमा आवद्ध भएर काम गर्नका लागि आफू पनि आएको वि.क.ले बताउनु भयो ।













