भाद्र २४, पाल्पा
पाल्पा – आव २०७९र०८० को वार्षिक बजेट तथा कार्यक्रम भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले सार्वजनिक गरेको छ ।
शुक्रवार एक कार्यक्रमकाबीच केन्द्रले आव २०७९ र ०८० को वजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
आर्थिक बर्ष ०७९ र ०८० का लागि पुजिँगत तर्फ ३० लाख ५० हजार र चालू तर्फ ६ करोड ७६ लाख ३ हजार गरि जम्मा ७ करोड ६ लाख ५३ हजारको कुल बजेट केन्द्रका वरिष्ठ पशु बिकास अधिकृत चन्द्र बहादुर रानाले प्रस्तुत गर्नुभयो ।
बरिष्ठ अधिकृत रानाले स्मार्ट कृषि गाउँ कार्यक्रम, गाई भैंसी बाख्रा माछा बङ्गुर कुखुरा पालन कार्यक्रम, तानसेन ७ मा गौशाला निर्माण, बगनासकाली ८ मा गाई भैंसी प्रबर्द्धन कार्यक्रम मस्य पोखरी निर्माण लगायतका कार्यक्रम रहेको र यी कार्यक्रमले पाल्पाका पशुपालन किसानलार्इ व्यवसायिक बनाउन र उनीहरूको आम्दानी बढाउन सहयोग गर्ने जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कार्यालयले किसानको आवश्यकता र मागको आधारमा बजेट ल्याउनुपर्ने बताए । उहाँले पशुपालन क्षेत्रमा समेत विविध खालका समस्या देखिएकाले पशुहरूको तथ्यांक संकलन गर्ने व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षता र विज्ञ केन्द्रका नासु युवराज ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।













