पाल्पा ५, भाद्र
देशभर नेकपा एमाले प्रवेश गर्ने लर्को चलीरहदा पाल्पामा भने नेकपा एमाले त्यागी नेकपा एकीकृत समादवादी पार्टीमा प्रवेश गर्ने वढेका छन् ।
तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका १७ नेताहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।
उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी प्रवेश गरेको जनाएका छन् । नेकपा एमाले भित्रबाट विभिन्न घटनाक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार काम हुन नसकेको भन्दै उक्त पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश भएको नेताहरुले जनाएका छन् ।
“नेकपा(एमाले) को नवौं महाधिवेसनले पारित गरेको राजनीतिक कार्यदिशा विपरित पार्टीको माथिदेखि तलसम्म स्वेच्छाचारी र व्यक्तिवादी ढंगले नेतृत्व चल्न थाल्यो। पार्टीका नीति , सिध्दान्त,विचार र पद्दती कुल्चीने काम भएकोछ । नेतृत्वमा रहनेहरुको अदूरदर्शिता र गलत रवैयाका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको कुरा हामीले स्मरण गर्न आवश्यक छ ” बिज्ञप्तीमा भनिएको छ ।
त्यस्तै नागरिकले विश्वास गरेकै कारण दुईतिहाइ जनमत प्राप्त उपलव्धिलाई जोगाउन नसक्नु दुई÷दुई पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनःस्थापना गर्दा पनि पार्टी भित्र समीक्षा गर्न तयार नहुनु संविधान विरोधी गैर मार्क्सवादी चिन्तन र गुटस्वार्थ मुख्य कारण हो भन्ने आम ठम्याईलाई बेवास्ता र त्यसको असरप्रति नेतृत्व तहमा संवेदनशिलता नदेखिनु दुःखद पक्ष भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
निवर्तमान नगरप्रमुख शाही सहित निर्वतमान उप प्रमुख लक्ष्मी देवी पाठक,भिम बहादुर कुमाल,शिब थापा,बिनिता लुइँटेल,बिनोद लुइँटेल,कृष्ण बहादुर केसी,लक्ष्मण कार्की,मधु कार्की,कृष्णकुमारी केसी,कृष्ण प्रसाद पाठक ,माधव प्रसाद पाठक,केशव प्रसाद घिमिरे,उमेश घिमिरे लगायत नेताहरु प्रवेश गरेका हुन् ।













