

पाल्पा, ३१ साउन
तानसेनमा निशुल्क कुक सम्बन्धी सिटीइभिटी लेवल टु को तालिम सञ्चालन सुरु भएको छ । तानसेन नगरपालिका, लुम्बिनी प्रदेश दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना मार्फत शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रा.लि.ले निःशुल्क कार्यगत अभ्यास सहितको दश महिने प्रोफेशनल कुक लेवल टु को तालिम सोमबार देखि सञ्चालन गरेको छ ।
सोमवार तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सिंजालीले सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न तालिममा सहभागीहरुलाई आग्रह गरेकी छन् । उनले आर्थिक रुपमा मजबुद र परिष्कृत बन्नका लागि तालिम सहयोगी बन्ने भन्दै तालिमको सहि सदुपयोग गरी व्यवसायिक बन्नुपर्नेमा जोड दिइन । उपप्रमुख सिंजालीले विदेश जाने मानसिकतालाई हटाई स्वदेशमै सीप सिकेर व्यवसायिक बन्ने सोंचका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरिन् । उनले परियोजनाले महिलाहरुलाई समेत प्राथमिकता दिएकाले महिला दिदी वहिनीहरुले त्यसको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिइन् ।
नगर सरकारले व्यवसायिक सीपलाई पहिलो प्रथामिकता दिएर काम गरेको विशिष्ट अतिथि तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले बताए । पाण्डेले देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको आर्थिक अवस्था सुधार हुन नसकेकाले आर्थिक उपार्जन सँग जोड्ने कार्यक्रमलाई नगर सरकारले प्राथमिकता दिएको बताए ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराईले तालिममा सिकेका कुराहरुलाई स्वदेशमै प्रयोग गर्न आग्रह गरे । उनले समय र लगानीलाई सहि सदुपयोग गर्न सके व्यवसायिक बन्न सकिने बताए । कार्यक्रममा पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसाय संघका महासचिव लक्ष्मण बस्याल, पाल्पा व्यापार संघका सदस्य बालकृष्ण भण्डारी लगायतले सीप सिकेर व्यवसायिक बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक वर्ष सिटीभिटी र स्थानीय सरकारको सहयोगमा सीपमूलक तालिमहरु सञ्चालन गरिदै आइएको इन्ष्टिच्यूटका संयोजक कमल प्रसाद भट्टराईले बताए । उनले प्रोफेशनल कुक लेवल टु को तालिममा महिला पुरुष गरेर २० जनाको सहभागीता रहने र तालिम १६ सय ९६ घण्टाको हुने जानकारी दिए ।