पाल्पा २८ साउन
शनिवार पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ हुने वताए ।
नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विष्टले नेकपा एमाले पराजित भए मुलुक दुघटना तर्फ जाने बताए।
एमालेले जिते देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगिने छ र यदि एमाले चुनाव हार्यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ र समाजवादको यात्रा रोकिने विष्टको भनाई छ।’
पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेका उनले बताए। राष्ट्रियतका हितमा काम गरिरहेको एक मात्र पार्टी एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको विष्टले दाबी गरे।
मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उनले आरोप लगाए। ती नेताहरूको स्वार्थ पूरा गर्न नदिनको लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन दिए।
नेकपा एमालेको सरकारले गरेका काम र गठबन्धन सरकारले एक वर्षमा गरेका कामका बारेमा जनतालाई छर्लङ्ग बुझाउन सके आगामी निर्वाचनमा एमालेको जित पक्का हुने समेत विष्टले बताए।
गठबन्धनको सीट बाँडफाँडकै विषयमा सहमति हुने संभावना कम रहेको विष्टको भनाई छ ।