काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज बुधबार प्रकाशन हुने बताएको छ ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक बिषय वस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। बैशाख ९ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी सहभागि भएका थिए ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले विद्यालय तहको कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरु पास हनु अनिवार्य ३५ अंक र ब्यबहारिकमा ४० अंक ल्याए मात्र मुल प्रमाणपत्र पाउने ब्यबस्था गरिएको छ । यस्तै, दुई विषय भन्दा बढी विषयमा ३५ अंक भन्दा कम अंक प्राप्त गरे वा ग्रेड बृद्धि परीक्षामा ३५ अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले पुनः सबै बिषयको परीक्षा दिनुपर्ने छ ।










