पाल्पा- पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै छ । स्वदेश तथा विदेशको विभिन्न स्थानबाट दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
सङ्ग्रहालयभित्र लुम्विनी प्रदेशभित्रका विभिन्न जातजाति भाषाभाषीले परम्परागत रुपमा प्रयोग गर्दै आएको घरेलु सामग्री र बाइसे–चौबिसे राज्य, सेन राज्य, नेपाल एकीकरणका ऐतिहासिक जानकारी, नेपाल–अङ्ग्रेज युद्ध ताका प्रयोग भएका घरेलु सामग्री पनि सङ्ग्रहालयभित्र राखिएको छ ।
सङ्ग्रहालयका प्रमुख चन्द्र वली भन्छन्, विविध जाति, भाषा, इतिहास र भूगोलको तथ्य र जानकारी समेटेकाले पर्यटकलाई यसले आकर्षण गरेको हो । सङ्ग्रहालयभित्र मुख्य गरेर, मगर, थारु, खसआर्य, नेवा, कुमाल समुदायको परम्परागत भेषभूषा, कला र संस्कृति तथा रहनसहन झल्किने भेषभुषा र सामग्री राखिएको छ ।
सरकारले लुम्बिनी प्रदेशकै नमूना सङ्ग्रहालयको रुपमा स्थापित गर्ने गरी हरेक वर्ष बजेट विनियोजन गर्दै आएको हो । प्रदेश सरकारले महत्व दिएकै कारण पछिल्लो समय सङ्ग्रहालय पर्यटकको रोजाईमा पर्ने गरेको सङ्ग्रहालय सञ्चालन एवं व्यवस्थापन समितिका सदस्य चित्रवलीराम सुवालले बताउनुभयो ।
पाल्पा दरबार सङ्ग्रहालयको अवलोकनका लागि पछिल्लो ८ महिनामा २०८ जना सार्क मुलुकका मुख्य गरी भारतबाट, १०८ जना जापान, चीन, कोरियाबाट र २० हजार ८४५ जना नेपालका विभिन्न स्थानबाट आएका छन् ।
यस्तै यही अवधिमा देशका विभिन्न स्थानबाट सात हजार १३९ जना विद्यार्थीले सङ्ग्रहालयको अवलोकन गरेको टिकट काउण्टरका कर्मचारी रोमा हिस्कीमगरले बताउनुभयो । विद्यार्थीले एउटा टिकटको रु २०, स्वदेशी नागरिकले प्रतिटिकट रु ५०, सार्क मुलुकका नागरिकले प्रतिटिकट रु १५० र विदेशी नागरिकले प्रतिटिकट रु २५० तिर्दै आएका छन् । आम्दानी बढेपछि सङ्ग्रहालयमा खटेका कर्मचारीको तलबभत्ता व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ । टिकटबाट पछिल्लो ८ महिनामा १० लाख बाबरको आम्दानी सङ्कलन भएको छ ।












