काठमाडौँ- लमजुङमा बाढीपहिराको कारण २१ घर जोखिममा परेको छ। क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको हो।
१५ गते ठूलो वर्षापछि पहिरो गए देखि पटकपटक पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरू जोखिममा परेको भनि वडाध्यक्ष मनलाल गुरुङको भनाइ छ ।
निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरू सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना भएको वडा कार्यालयले जनाएको थियो ।
पहिराले बस्ती जोखिमभएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ लगायतको टोलीले समेत अनुगमन गरे पछि उहाँले दक्ष प्राविधिक ल्याएर पहिराको थप अनुसन्धान गरेर रोकथाम गर्ने आश्वासन दिएको स्थानीयले बताए । त्यहाँ १५० घर भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन्।












