पाल्पा - रामपुरमा एकल महिलाहरूका लागि सञ्चालन गरिएको ४ दिने स्टेज उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ। एकल महिला नगर समन्वय समिति रामपुर पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

सोमबार आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै नगर उपप्रमुख बाल कुमारी थापाले एकल महिलाहरूको उत्थानमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विगतमा समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण फरक भए पनि पछिल्लो समय सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै सहज जीवनयापनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
उहाँले न्यून आय भएका एकल महिलाहरूको समस्या समाधानमा सबैको सहकार्य आवश्यक रहेको बताउँदै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, एकल महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र व्यवसाय प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा कार्यपालिका सदस्य मायादेवी नेपालीले सबै एकल महिलाहरूलाई अधिकारका लागि सचेत र एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। अर्की सदस्य शारदा आचार्यले बाध्यात्मक परिस्थितिमा एकल जीवन बिताइरहेका महिलाहरूबीच एकता आवश्यक रहेको बताउनुभयो।
तालिमका प्रशिक्षक सीता डोटेलले सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई प्रेरित गर्नुभयो। सहभागीहरूका तर्फबाट विष्णु मल्ल, पवि पाटा र मुना घिमिरेले तालिम उपलब्धिमूलक रहेको भन्दै सिकेका सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाए।
एकल महिला नगर समन्वय समिति रामपुर पाल्पाका अध्यक्ष लक्ष्मीदेवी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रम नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा भएको हो। रामपुर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कविता मल्लले स्वागत र सचिव विष्णु थापाले सञ्चालन गर्नुभएको थियो।
नगरपालिकाभित्रका २५ जना एकल महिलाहरूको सहभागिता रहेको तालिममा पत्रकार दानु हिस्की मगर र सीता डोटेलले सहजीकरण गर्नुभएको थियो। तालिममा स्टेज उद्घोषण, भाषणकला तथा बैठक सञ्चालनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।












