तानसेन- पाल्पा स्वास्थ्य कार्यालय पाल्पाले विश्व क्षयरोग दिवसको अवसरमा जिल्लाका क्रियाशील पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा
“हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने मूल नारासहित अन्तरर्कृया कार्यक्रममा सम्पन्न भएको हो । स्वास्थ्य कार्यलयको तथ्याङ्कअनुसार पाल्पामा क्षयरोग पत्ता लगाउने दर सरकारी लक्ष्यभन्दा निकै न्यून देखिएको छ, जसले समुदायमा अझै ठूलो संख्यामा संक्रमितहरू उपचारको दायरा बाहिर रहेको पुष्टि गरेको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख टुक प्रसाद पोखरेलले जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी दिँदै विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुसार पाल्पामा प्रतिवर्ष ५३३ नयाँ बिरामी खोज तथा पहिचान गर्नुपर्ने भएतापनि
गत आर्थिक वर्षमा ३२२ जना मात्र फेला परेको बताउनुभयो । तथ्याङ्कअनुसार वार्षिक २११ जना
क्षयरोगीहरू अझै पनि पहिचान हुन नसकेको र उनीहरूबाट अन्य व्यक्तिमा रोग सर्ने जोखिम उच्च रहेको पोखरेल बताउनुहुन्छ। पोखरेलका अनुसार पाल्पामा विगत तीन वर्षमा प्रति लाख जनसंख्यामा क्रमशः १३४, १५४ र १३८ जनामा क्षयरोग पुष्टि भएको साथै जिल्लाका पालिकाहरूमध्ये निस्दी गाउँपालिकामा बिरामी पत्ता लाग्ने दर (प्रति लाख १९८ जना) सन्तोषजनक रहे पनि रिब्दीकोट गाउँपालिकामा भने यो दर (प्रति लाख १२५ जना) निकै कमजोर रहेको उहाँले बताउनुभयो ।
हाल पाल्पाका सबै स्थानीय तहमा गरी ७० वटा डट्स सेन्टर र हरेक पालिकामा प्रयोगशाला (ल्याब) सञ्चालनमा रहेतापनि यद्यपि, नियमित औषधि सेवन गर्नुपर्ने बिरामीमध्ये पाल्पामा ४ जना सम्पर्क बाहिर रहनुले स्वास्थ्य प्रशासनलाई थप चुनौती थपेको छ। तथ्याङ्कअनुसार फेला परेका बिरामीमध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला रहेका छन् ।
स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विश्वनाथ न्यौपानेले मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा शरीरमा रहेको निष्क्रिय कीटाणु सक्रिय भएर क्षयरोग लाग्ने बताउनुभयो। न्यौपानेले यो रोग श्वासप्रश्वासका माध्यमबाट सर्ने र कुल संक्रमितमध्ये ८० प्रतिशतमा फोक्सोको क्षयरोग तथा २० प्रतिशतमा अन्य अंगको क्षयरोग हुने गरेको बताउनुभयो । उहाँकानुसार “नेपालमा वार्षिक १७ हजार मानिसले क्षयरोगका कारण ज्यान गुमाइरहेका छन्। यसलाई नियन्त्रण गर्ने एक मात्र कडी भनेकै बिरामीलाई समयमै पत्ता लगाउनु र पूर्ण उपचार गर्नु हो ।”नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिए पनि रोगीको संख्या घट्ने दर सुस्त हुनुले राष्ट्रिय अभियानमा थप सक्रियता आवश्यक देखिएको छ । पाल्पामा गतवर्ष २५ जनाको क्षयरोगबाट मृत्यू भएको छ ।
लगातार खोकी लाग्नु, तौल घट्दै जानु, साँझपख हल्का ज्वरो आउनु, पसिना आउनु, खान मन नलाग्नु र छाती दुख्नु क्षयरोगका मुख्य लक्षणहरू हुन् । विशेषगरी धूम्रपान, मद्यपान र लागूऔषध सेवन गर्ने व्यक्ति, अंग प्रत्यारोपण गरेका र प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।













