राष्ट्रिय न्यूज - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पाल्पा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार माधवबहादुर थापा विजयी हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले २६ हजार ७३६ मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित जित हासिल गर्नुभएको हो।
उहाँका निकटतम प्रतिद्वन्द्वी हिमालदत्त श्रेष्ठ (नेपाली कांग्रेस) ले १२ हजार १९२ मत प्राप्त गर्नुभएको छ भने ठाकुरप्रसाद गैरे (नेकपा एमाले) ले १० हजार ५०३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै सोमप्रसाद पाण्डेय ले ५ हजार २ सय ८८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। देशभरका निर्वाचन क्षेत्रमध्ये मत परिणामको दृष्टिले पाल्पा–२ पनि निकै रोचक र प्रतीक्षालाग्दो क्षेत्रमध्ये परेको थियो।
विजयपछि राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाले तानसेनमा पत्रकार सम्मेलन तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले पाल्पाली जनताले आफूमाथि गरेको भरोसालाई विकास र सुशासनमार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “यो जित मेरो मात्र होइन, परिवर्तन चाहने सम्पूर्ण पाल्पावासीको साझा जित हो,” उहाँले भन्नुभयो, “निर्वाचनका क्रममा जनताका आँगनमा गरेका प्रतिबद्धता म कहिल्यै भुल्ने छैन।”
थापाले आफूलाई २६ हजार ७३६ मतसहित विजयी बनाउन भूमिका खेल्ने पार्टीका नेता–कार्यकर्ता, विभिन्न राजनीतिक दलका शुभेच्छुक, पत्रकार तथा सञ्चारकर्मी, साथै देश तथा विदेशमा रहेका परिवर्तन चाहने सम्पूर्ण मतदाता र समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका जिल्ला सभापति विष्णु भण्डारी ले पार्टीका विचार र एजेन्डालाई जनतासम्म पुर्याउन सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले पाल्पामा रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गरेको उल्लेख गर्दै आगामी दिनमा पार्टीले जनसेवामा केन्द्रित भएर अघि बढ्ने बताउनुभयो।
त्यस्तै पार्टीका उपसभापति सुमन गैरे ले निर्वाचनको चुनौतीपूर्ण समयमा कार्यकर्ताको अथक मेहनत र कुशल व्यवस्थापनका कारण सफलता प्राप्त भएको बताउनुभयो। उहाँले जनताको मतको कदर गर्दै पार्टी सधैं उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा कमलराज तिमिल्सेना, अध्यक्ष, नेपाल पत्रकार महासंघ पाल्पाले नवनिर्वाचित सांसद थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले पाल्पाको समग्र विकासका लागि सञ्चार क्षेत्र रचनात्मक सहकार्यका लागि सदैव तयार रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सूचनाको हकको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
यस निर्वाचन परिणामलाई धेरैले पाल्पा–२ मा आएको नयाँ राजनीतिक सन्देश र परिवर्तनप्रतिको जनआकांक्षाको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन।













