पाल्पा - पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा करिब ३१ वर्षपछि नेपाली कांग्रेसले ऐतिहासिक जित हासिल गरेको छ। लामो समयदेखि नेकपा एमालेको प्रभाव रहेको यस क्षेत्रमा यसपटक कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी हुँदै कांग्रेसको विरासत पुनः स्थापित गर्न सफल हुनुभएको हो।
रानाले १८ हजार ३३६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद आचार्य ले १६ हजार ८१९ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्त ले १४ हजार ३३३ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका हुमबहादुर सुनारी मगर ले ९ सय ५१ मत प्राप्त गर्नुभएको छ।
लामो समयदेखि वामपन्थी दलहरूको प्रभाव रहेको पाल्पा–१ मा कांग्रेसले ऐतिहासिक पुनरागमन गरेपछि कांग्रेस कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन्। मतगणना सम्पन्न भएसँगै रामपुर नगरपालिका परिसरमा नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। विजयी रानालाई सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटेर बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।













