प्रवीण तिमल्सिना दोहा, कतार-
पाल्पाको रामपुर नगरपालिका–१, खटाङ्गको श्री शिवशक्ति आधारभूत विद्यालयको शैक्षिक बिकाशका लागि पाल्पाली सेवा समाज दोहा–कतारले ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ।
कतारमा रहेर पनि नेपालको शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको साथै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित उक्त सहयोग प्रदान गरिएको पाल्पाली सेवा समाज दोहा–कतारका वर्तमान अध्यक्ष विश्व नाथ भट्टराईले बताउनुभयो ।
पाल्पाली सेवा समाज कतारका पूर्व अध्यक्ष इश्वर काफ्लेले आर्थिक रकम हस्तान्तरण गर्नुभएको हो । काफ्ले गएको सन २०१७ देखि २०१९ मा अध्यक्ष रहनुभएको थियो।
कार्यक्रममा काफ्लेले पाल्पाली सेवा समाज दोहा–कतारका उद्देश्य, योजना तथा हालसम्म सम्पन्न सामाजिक तथा शैक्षिक गतिविधिबारे जानकारी समेत गराउनुभएको थियो। सक्रिय भूमिका निर्वाह गर्नु भएका काफ्लेलाई विद्यालय परिवार तथा स्थानीयवासीद्वारा धन्यवाद तथा संमानपत्र प्रदान गरिएको हो । विद्यालयले पाल्पाली सेवा समाज दोहा–कतारलाई समेत सम्मान–पत्र प्रदान गरेको हो।
पाल्पाली सेवा समाज दोहा–कतारका वर्तमान अध्यक्ष विश्व नाथ भट्टराईले आगामी दिनमा अन्य विद्यालयहरूलाई पनि शैक्षिक तथा भौतिक सहयोग निरन्तर प्रदान गरिने बताउनुभयो।






