राष्ट्रिय न्युज - जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले तानसेन नगरपालिका–भगवती टोलमा रहेको राष्ट्र हाउस फेन्सी पसलमा खानतलासी गर्दा २६ थान विद्युतिय धूम्रपानजन्य सामग्री बरामद गरेको छ। साथै, सिल्खनटोलस्थित आलिम स्टोर्स कस्मेटिक पसलबाट २२ थान विद्युतिय धूम्रपानजन्य सामग्री फेला पारी ३१ वर्षका राजाराम सोनी र ५२ वर्षका आलिम मियाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजस्व कार्यालय बुटवल पठाइएको उहाँले बताउनुभयो।
यसैगरी, रम्भा गाउँपालिका–३, सितापहाडस्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले ग ५ प ८३५५ नम्बरको मोटरसाइकलमा सवार पोखरा महानगरपालिका–२५ निवासी ३० वर्षका जयदेव बी.के. र २७ वर्षका अजित परियारलाई लागुऔषधसहित पक्राउ गरेको छ। उनीहरूको साथबाट Diazepam Injection 2/2 ml का ४४ एम्पुल, Buprenorphine Injection 2/2 ml का ४४ एम्पुल तथा Phenergan Injection 2/2 ml बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।














