मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू नेतृत्व गरेको नागरिक बचाउ महाअभियानले घोषणा गरेको आन्दोलन स्थगित नभएको, तर केवल यसको रूपरेखा परिवर्तन गरिएको स्पष्ट पारेका छन्। प्रहरी हिरासतबाट सर्वोच्च अदालतको आदेशपछि रिहा भएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अदालतले “न्याय मरेको छैन” भन्ने पुष्टि गरेको बताए।
उनका अनुसार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको विशेष अनुरोधलाई ध्यानमा राख्दै आजदेखि सुरु हुने भनिएको आन्दोलन तथा आम हड्तालको मोडल परिवर्तन गरिएको हो। “आन्दोलन रोकिएको होइन, शैली मात्र परिवर्तन गरिएको हो,” प्रसाईंले भने।
प्रसाईंले सरकारसँग वार्ता सुरु गर्ने निर्णय भएको पनि जानकारी दिए। जीविकोपार्जन, गरिबी निवारण र जनजीविकासँग सम्बन्धित मुद्दामा छलफल भएको उल्लेख गर्दै उनले हिंसा नहोस् भन्ने उद्देश्यले आफूहरू वार्तामा बस्न तयार भएको बताए।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा सुनुवाइ गर्दै प्रसाईंलाई छोरा निराजनको जिम्मामा रिहा गर्न आदेश दिएको थियो। भक्तपुरस्थित घरबाट सोमबार मध्यराति पक्राउ परेका प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति भंगको आरोपमा नौ दिन हिरासतमा राखेको थियो।
शनिबार राति प्रसाईं समूह र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित नगरी निरन्तर छलफल गर्ने सहमति बनेको छ। अब हुने वार्तामा प्रसाईं स्वयं सहभागी हुने जनाइएको छ।














