राष्ट्रिय न्युज -पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा विद्यालयस्तरमै आयुर्वेद र योग शिक्षा विस्तार गर्ने अभियान सुरु गरिएको छ। चिदीपानी आयुर्वेद औषधालयको समन्वयमा संचालित चारदिने आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण तालिम शुक्रबारदेखि माथागढी–१ स्थित ज्ञानोदय आधारभूत विद्यालयमा प्रारम्भ भएको हो।
उद्घाटन गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले पालिकाले आयुर्वेद सेवा र यससम्बन्धी शिक्षालाई प्राथमिकतामा राख्दै नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले भने, “मैले स्वयं दैनिक योग अभ्यास गर्दै आएको छु, यसको प्रभावले शारीरिक स्वास्थ्यमा उल्लेखनीय सुधार देखेको छु। हाल आयुर्वेदप्रति जनताको आकर्षण ठूलो मात्रामा बढ्दो छ।”
कार्यक्रममा माथागढी गाउँपालिकाका वडा न १, २ र ३ का जनप्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमका क्रममा ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक बिजदीप पन्थीले आफ्नो विद्यालयलाई तालिम स्थलका रूपमा छनोट गरिदिएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै विभिन्न विद्यालयबाट आएका शिक्षक–शिक्षिकालाई स्वागत गरे।
आयुर्वेद र योग जीवनशैलीमै आधारित स्वास्थ्य पद्धति भएकाले यसको अभ्यासले रोग लाग्न नदिने क्षमता बढाउने डाक्टर श्रीधर अधिकारीले बताए। उनले तालिमले शिक्षकमार्फत विद्यालयमा स्वास्थ्यमैत्री वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।
कार्यक्रम गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीको अध्यक्षता र विकास काफ्लेको संञ्चानमा सम्पन्न भएको थियो। तालिममा गाउँपालिका भित्रका आठवटा माध्यमिक तथा आधारभूत विद्यालयका ११ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको आयोजकले जनाएको छ।










