गोसाइँकुण्ड–रसुवा : धार्मिक आस्था, प्राकृतिक सुन्दरता र विकासका सम्भावनामा आधारित विशेष रिपोर्ट
खेमराज पाण्डे, राष्ट्रिय न्यूज
रसुवा—नेपालका प्रमुख पवित्र तीर्थस्थलहरूमध्ये गोसाइँकुण्ड धार्मिक आस्था, हिमाली सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनको अनौठो मेल बनेर प्रस्तुत हुन्छ। समुद्र मन्थनका बेला भगवान् शिवले कालकूट विष पिएपछि जलन शान्त पार्न त्रिशूल प्रहार गरी सिर्जना गरिएको जनविश्वास रहेको यो पवित्र कुण्ड अहिले पनि हजारौँ भक्तजनका लागि आस्थाको केन्द्र बनेको छ। जानै पूर्णिमामा यहाँ ठूलो संख्यामा भक्तजन आउने परम्परा अझै जीवित छ।
समुद्र सतहदेखि ४,३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड वरपर फैलिएका ल्याङटाङ र गणेश हिमाल, उच्च–हिमाली घाँसे मैदानी भू–भाग, वन्यजन्तु र दुर्लभ वनस्पतिले यस क्षेत्रलाई प्राकृतिक सुन्दरताको अनुपम नमुना बनाएको छ। तामाङ, शेरपा, गुरुङ लगायत समुदायहरूको संस्कृति, परम्परा र जीवनशैलीले धार्मिक क्षेत्रलाई सांस्कृतिक रूपमा झनै आकर्षक बनाएको छ। ल्याङटाङ राष्ट्रिय निकुञ्जको अभिन्न हिस्सा भएकाले यो क्षेत्र जैविक विविधताले पनि समृद्ध छ।
स्थानिय स्तरमा कृषक तथा समाजसेवी दोजे तामाङले रसुवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कृषि क्षेत्रलाई बलियो बनाउनु पर्ने आवश्यकता व्यक्त गरे। उनका अनुसार आलु, फापर, स्थानीय तरकारी र लोकल मसुरोलाई ब्रान्डका रूपमा स्थापित गर्न आधुनिक प्रविधि, समयमै मल–बिरुवा र बजार पहुँच उपलब्ध गराउन सकिए रसुवाको पहिचान अझ बलियो बन्न सक्छ। स्थानीय अधिकारीहरूले पनि किसानलाई छिटो सहुलियत र अनुदान उपलब्ध गराउनुपर्ने कुरा दोहोर्याए।
गुल्मीमा जन्मिए पनि रसुवाको भूगोल र संस्कृति नजिकबाट बुझेका तोयानाथ पान्डेले धार्मिक र प्राकृतिक महत्वलाई अझै अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिनुपर्ने धारणा राखे। उता, मोरङका नवीन भट्टराई, पाल्पाका गोकुल भण्डारी र बुटवलका हरि भट्टराईले गोसाइँकुण्ड यात्रालाई कठिन तर जीवनमै अविस्मरणीय अनुभवका रूपमा वर्णन गरे। उकालो, चिसो र लेक लाग्ने चुनौतीका बाबजुद कुण्डको किनारमा पुगेपछि प्राप्त हुने शान्ति र आनन्द “जीवनकै नयाँ ऊर्जा” भएको उनीहरूको अनुभव छ।
गोसाइँकुण्ड मार्गका होटल व्यवसायी जयक्रम छोङका अनुसार ट्रेकिङ रुट सुधारमा खासै ध्यान नदिएका कारण पर्यटकले अझै कठिनाइ भोगिरहेका छन्। बाटो मर्मत, सूचना बोर्ड, सुरक्षा संकेत, विश्रामस्थल र आपतकालीन स्वास्थ्य सेवा सबै पक्षमा कमजोरी रहेको उनको भनाइ छ। प्रकृतिले दिएको अमूल्य पहिचानको संरक्षण र व्यवस्थित प्रचार गर्न सबै पक्ष जिम्मेवार रूपमा अघि सर्नुपर्ने सुझाव स्थानीय बासिन्दाले दिएको छ।
रसुवा कृषि, पर्यटन, व्यापार, सांस्कृतिक पहिचान र प्राकृतिक सुन्दरताको अद्वितीय मिश्रण रहेको जिल्ला हो। किसानको भविष्य, चीनसँगको व्यापारिक सम्भावना, धार्मिक धरोहर र हिमाली भू–भागको अनौठो मोहकता एकै ठाउँमा संगठित रूपमा रहेको यस क्षेत्रले पर्याप्त योजना, पूर्वाधार, अनुदान, पर्यटन प्रवद्र्धन र स्थानीय नेतृत्वले सक्रिय भूमिका निभाएमा सजिलै अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ।










