राष्ट्रिय न्युज - पाल्पा,गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आइतवार भगवान हृषिकेशको भव्य रथयात्रा निकालीएको हो। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रुरु क्षेत्र धाममा प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष हरिबोधनी एकादशीको अर्को दिन द्धादशीका दिन हृषिकेश वार्षिकउत्सव तथा भगवानको रथयात्रा निकाल्ने परम्परा रहँदै आएको छ।
दिउसो १ः०० वजेको साइतमा मन्दिरमा फूलपाति भित्राएपछि विगतका वर्षमा जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधु–सन्त र भक्तजनको ठूलो उपस्थितिमा रथयात्रा निकालिएको थियो।
रथयात्राको सुरुवात रुरु क्षेत्रधामस्थित हृषिकेश मन्दिर परिसरबाट सुरु भएको थियो भने रथयात्रा गुल्मीको रिडि बजार, हृषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा बाजागाझा सहित परिक्रमा गराई भगवानको दर्शन पुजाआजा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। वैदिक मन्त्रोच्चारण, धार्मिक भजन–कीर्तन र पण्डितहरूको पूजापाठ सहित रथयात्रा गरिएको थियो। भक्तजनहरूले भगवान हृषिकेशको रथ बोकेर रुरु क्षेत्र सहित वरपरका बजार परिक्रमा गरेका थिए। रथयात्राका क्रममा स्थानीयवासीले घर आगनवाटै भगवानप्रति फूलमाला, धूप–दिप र प्रसाद चढाएको देखिन्थ्यो।
रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’ मध्ये एक मानिन्छ। यहाँको धार्मिक महत्त्व विष्णु भगवानको अवतार हृषिकेशसँग जोडिएको छ। धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान हृषिकेशको दर्शन गरे पापकर्महरू नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ह्षिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले जानकारी दिए। यस वर्ष रथयात्राको अवसरमा तानसे नगरपालिकाले स्थानिय विदा समेत दिएको थियो । रथयात्रामा हजारौ दर्शनार्थीहरुको भिडलागेको थियो ।













