सुमन कार्की पाल्पा-
विहीबार तानसेन ५का वडा अध्यक्ष राम बहादुर रावलको नेतृत्वमा गएको स्थानीयको टोली नगरपालिकाको कार्यालयमै पुगी नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई तानसेनको विकास योजनाका बारेमा माग सहितको पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । कैलाशनगर र बतासेडाडाँ क्षेत्रका स्थानीयले तानसेनको विकास सुस्ताउदै गएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तानसेन नगरभित्रका सडक स्तरन्नोति, पाल्पा रानीमहल,पाल्पा दरबार संग्रहालय, श्रीनगरपार्क, ऐतिहासिक तानसेन बजार, धार्मिक मठमन्दिरलगायत तानसेनमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरूको सम्वर्धन नगर्दासम्म तानसेनमा पर्यटन व्यवसायलाई टिकाइराख्न गाह्रो भएको भन्दै त्यसतर्फ ध्यान दिन नगर सरकारलाई स्थानियले आग्रह गरेका हुन् ।
शित्तलपाटी, जेभिटी स्कुल, सेन्ट केपितानियो, कैलाशनगर, बतासेडाँडा हुँदै ढुङ्गखानीतर्फ जाने मोटर बाटोको स्तरोन्नतिको काम तत्काल शुरु गर्नुपर्ने , कैलाशनगर चौकदेखि श्रीनगर वनपार्क जाने प्रवेश मार्गमा सडक नाली स्तरोन्नति गर्नुपर्ने, कैलाशनगर आसपासका क्षेत्रका शाखा सडकहरूको स्तरोन्नति गर्नुपर्ने, रानीमहलतर्फ जाने बाटो स्तरोन्नति र सरसफाई गर्नुपर्ने, पर्यटकीय क्षेत्र र वनपार्क आसपासका पदमार्गको व्यवस्थापनका साथै ठाउँ–ठाउँमा साङ्केतिक बोर्ड राख्नुपर्ने , श्रीनगर डबली र आसपासका क्षेत्रमा अव्यवस्थित रुपमा रहेका सडकका नालीहरू तत्काल मर्मत गरी स्तरोन्नति गर्नुपर्ने, चिलाङ्दी, मिसन अस्पताल, आखाँ अस्पताल, सेन्ट केपितानियो स्कुल, कैलाशनगर हुँदौ बतासे जोड्ने मोटरबाटो चौडा गर्ने कार्य नगरपालिकाको भावी रणनीतिमा रहेकाले सो बाटो चौडा गर्दा मौजुदा बस्ती नै असुरक्षित हुने खतरा भएकाले वैकल्पिक मार्ग प्रयोग गर्ने विधि अवलम्वन गर्नुपर्ने माग ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस्तै वनदेवीमा फालिँदै आएको फोहोरको उचित व्यवस्थापन गर्नु पर्ने, तानसेन बतासेडाँडामा पर्यटकहरूको आगमनमा वृद्धि भए पनि सरसफाई र खानेपानी र सडक बत्तीको उचित व्यवस्थापन नहुँदा समस्या देखिएकाले तत्काल समधान गर्नुपर्ने साथै निर्माणाधीन नयाँ बसपार्कलाई छिटोभन्दा छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने, बतासेको विज्ञान संकायमा विएस्सी सिएस्आइटि, कक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत प्राप्त भएकाले बतासेडाँडाकै भवनबाट कक्षा सञ्चालन गर्नुपर्ने, यस क्षेत्रका वृद्धवृद्धा र आम नागरिकको प्रारम्भिक स्वास्थ्य जाँचकालागि स्थानीय सरकारको तर्फबाट स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी स्थापना गर्न समेत स्थानीयले माग गरेका छन् । नगर प्रमुख श्रेष्ठले मागहरु जायज भएकाले यथासिघ्र स्थानीय सरकारले सम्बोधन गर्ने र नसके प्रदेश र संघीय सरकारसँग सहयोग माग्ने प्रतिवद्धता जनाए ।













