बिजयदिप पन्थी- माथागढी गाउँपालिका–१, चिदीपानी स्थित बाहाखोक–अर्पिडाडा दोहोरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको दोस्रो वार्षिक साधारणसभा आज एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष खेमान सिंह थापा (सारु) ले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा माथागढी गाउँपालिका–१ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थी उपस्थित हुनुहुन्थ्यो।
प्रमुख अतिथि पन्थीले सम्बोधन गर्दै “एक घर, एक धारा” अभियान अन्तर्गत यही आर्थिक वर्ष २०८२/०८३ भित्र चिदीपानीका करिब ९० प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खानेपानीसँगै शिक्षा, स्वास्थ्य, मोटरबाटो, सिंचाइ, कृषि र पशुपालनलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो।
पन्थीले आगामी केही वर्षभित्र जनताले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्दै, त्यसका लागि समुदायको सकारात्मक र सचेत सहभागिता अत्यावश्यक रहेकोमा जोड दिनुभयो।
त्यस्तै, अध्यक्ष खेमान सिंह थापा (सारु) ले विगतमा खोलाबाट पानी बोक्ने बाध्यता रहेको दयनिय अवस्था सम्झिँदै अहिले लिफ्ट प्रणाली र परम्परागत स्रोतको उचित व्यवस्थापनका कारण सुविधा विस्तार हुँदै गएको बताउनुभयो। उहाँले निर्माणाधीन आयोजना केही महिनाभित्र सम्पन्न भई सञ्चालनमा आएपछि यो क्षेत्रका बासिन्दाले **‘पानीको बरदान’**को अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, आयोजनाको सफलताका लागि निरन्तर सहयोग गर्ने जनप्रतिनिधि तथा सम्बन्धित निकायहरूलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा वडा सदस्य लिला कुमारी बिक, ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक विजयदीप पन्थी, माथागढी बहुउद्देश्यीय सहकारीका अध्यक्ष भबानसिंह गाहा, पत्रकार जगन्नाथ काफ्ले, कालोखोला–स्यारखोक सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष निर्मला राना, समाजसेवी टिकाराम बस्याल, र उजेला बिक लगायतको विशेष आतिथ्यता रहेको थियो।
साधारणसभामा अध्यक्ष थापाले वार्षिक प्रतिवेदन र आगामी वर्षका योजना प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष जमुना थापाले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभयो। करिब १५० जना उपभोक्ताको उपस्थितिमा सम्पन्न भेलाको स्वागत मुरारी बस्यालले गर्नुभयो भने कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर बिकले गर्नुभएको थियो।














