पाल्पा – गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार घटनाका उजुरी परेको तथ्याङ्क प्राप्त भएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङले उपलब्ध गराएको विवरण अनुसार त्यस अवधिमा सबै भन्दा बढी बाँकेमा ६३ वटा र सबै भन्दा कम अर्घाखाँचीमा ७ वटा बलात्कार घटनाका उजुरी परेको छ ।
त्यस्तै बर्दियामा ५७ वटा, दाङमा ८३ वटा रोल्पामा १८ वटा, प्युठानमा २० वटा, रुकुम पूर्वमा ४ वटा, कपिलवस्तुमा ३८ वटा, रुपन्देहीमा ६८ वटा, नवलपरासी पश्चिममा १९ वटा, पाल्पामा २१ वटा र गुल्मीमा १३ वटा बलात्कार घटनाका उजुरी परेको छ। बलात्कृत हुनेहरूमा १६ वर्ष मुनिका १७३ जना बालिका रहेका छन् ।
१६ देखि १८ वर्ष मुनिका ९० जना रहेका छन् । १८ देखि २५ वर्षमुनिका ७२ जना रहेका छन् । २६ देखि ३५ वर्षका ३६ जना रहेका छन् । २६ देखि ४५ वर्षका २५ जना रहेका छन् । ४६ देखि ६० वर्ष मुनिका १३ जना र ६० वर्षदेखि माथिका २ जना महिला बलात्कृत भएका छन् ।
सबैभन्दा कम उमेरकी ३ वर्षीया बालिका बर्दियामा एक जना र पाल्पामा एक जना गरी दुई जना बालिका यौन हिंसाको शिकार भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।













