राष्ट्रिय न्युन– हिन्दुहरुको महान् चाड दसैँ नजिकिएसँगै भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट नेपाली स्वदेश फर्किने क्रम ह्वात्तै बढेको बताउनुभयो । उहाँका अनुसार गत एक सातामा मात्रै करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । प्रहरी निरीक्षक बुढाथोकीले नाकाबाट दैनिक करिब दुई हजारको हाराहारीमा नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेको बताउनुभयो । केही दिनअघि भएको जेनजी आन्दोलनका क्रममा सीमानाका बन्द नाका इलाका प्रहरी कार्यालय जमुनाहले नाका पुनः सञ्चालन भएपछि भारतबाट आउने नेपालीको सङ्ख्या बढेको जनाएको छ ।
भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुनाह नाकामा सहज बनाएको छ । रिक्सा, ई–रिक्सा, बस, होटेल व्यवसायीबाट स्वदेश फर्किने क्रममा नेपाली ठगिने, लुटिने सम्भावनालाई हेरेर नेपाल प्रहरीले कडा निगरानी गरिरहेको छ । कालीकोटका रमेश विकले यस पटक फर्किने योजना नरहे पनि देशको अवस्थाले गर्दा आउनु परेको बताउनुभयो ।













