राष्ट्रिय न्युज-आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मनोज सिलवाललाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री खनालले बताए ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गरिएको पनि उनले बताए ।













