पाल्पा - रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढी भएको छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका छन् । ५० शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न सक्छ ।
यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत ६ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा.विजय परियारको भरमा उपचार सेवा जारी भइरहेको छ ।
“जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवती महिला, फिजियोथेरापी लगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” उनले भने ।
यहाँ एक हप्ताका अवधीमा मात्रै १५ झाडापखाला कै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ । अस्पतालमा कार्यरत स्थायी दरबन्दीका मेडिकल अधिकृत डा. कपिल ज्ञवाली, डा. कुशल खनाल, डा. विकास शर्माले अध्ययन बिदा देखाउँदै यही वैशाख १ गतेदेखि लागू हुने गरी पत्र बुझाएको अस्पतालले बताएको छ ।
करारमा कार्यरत तीन जना मेडिकल अधिकृत डा. साकार ढकाल, मोहम्मद सर्फराज आलम र डा. आयुष पौडेल राजिनमापत्र बुझाएर वैशाख १ गतेदेखि अनुपस्थित भएका हुन् । हाल अस्पतालमा ३०० बढी बिरामी उपचारमा आउने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दाबढी नै छन् । एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको मेडिकल सुपरिण्टेडेण्ट डा. परियारको गुनासो गरेका छन् ।
रामपुर अस्पताल चार जिल्लाका नागरिकले स्वास्थ्य उपचार सेवा लिने ठाँउ हो । कालीगण्डकी वेशीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्वनवलपरासीका नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएको हो । तर जनशक्ति अभावमा एक चिकित्सकले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता भएको छ ।
जनशक्ति अभाव रहे पनि यहाँ रहेका स्वास्थ्यकर्मी २४ सैँ घण्टा बिरामीको सेवामा तल्लिन छन् । अस्पतालमा भर्ना भएर बस्दा राम्रो स्वाथ्य उपचार सेवा पाएको रामपुर नगरपालिका बाङ्गेपसल बस्ने ७४ वर्षीय कृष्णमाया श्रेष्ठले बताउँनुभयो ।
“अस्पतालमा काम गर्ने डाक्टरले छोडेर गए भन्ने सुनेको छु, तर पनि यहाँ खट्नुभएका डाक्टरले रातदिन सेवा दिइरहनुभएको छ, श्वासप्रश्वाससम्बन्धी समस्या भएर भर्ना भएर बसेको छु, जनशक्ति नहँुदा पनि हामीले अहिलेसम्म सेवा राम्रै पाइएको छ”, उनी भन्छन् ।
कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार, मन्त्रालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय पाल्पामा पत्राचार गरिसकिएको र अहिलेसम्म वैकल्पिक व्यवस्थापनको विषयमा कुनै जानकारी नआएको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल भन्नुहुन्छ ।
उनी भन्छन्, “करारमा कर्मचारी नियुक्ति गरेर भएपनि जनतालाई सेवा दिनुपर्छ भनेर हामी लागि परिरहेका छौँ, निर्वाचन आचारसंहिता लागू भइसकेकाले बाधा पुर्याउँछ कि भन्ने छ, स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा सम्बन्धित निकायले वैकल्पिक व्यवस्थापनको लागि विशेष ध्यान दिनुपर्नेछ” ।
स्थायी दरबन्दीमा कार्यरत कर्मचारीले आफूले पाउने अध्ययन बिदा आवश्यक परेपनि सम्बन्धित निकायले स्वीकृत बिना संस्थालाई बाधा पर्ने गरी बिदामा बस्न नपाइने । स्थायी जागिरे भएको दुई वर्षको समयावधि पश्चात् दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अध्ययन बिदा पाउने व्यवस्था छ । त्यसकारण पनि यहाँको अस्पतालमा दुई वर्ष कार्यरत पश्चात् माथिल्लो तहको अध्ययनका लागि भन्दै चिकित्सक अध्ययन बिदामा जाने गरेको छ ।
यस अस्पतालमा हाल नौ जना स्थायीसहित जम्मा ७० जना कर्मचारी कार्यरत छन् । स्थानीय अन्तर्गत प्रशासनिक क्षेत्रमा प्रमुख एक, सहायक एक, चार मेडिकल अधिकृत, एक नर्सिङ कर्मचारी, लेखापाल एक, मेडिकल अधिकृत रेकर्डस् एक जना कर्मचारी छन् । बाँकी कर्मचारी करार प्रकृतिका छन् ।
मेडिकल सुपरिण्टेडेण्ट डाक्टर बिनेश झा विगत दुई वर्षदेखि यहीँ अस्पताल मातहत तलव सुविधा लिने गरी अध्ययन बिदामा छन् । यहाँको अस्पतालमा आउने चिकित्सक अध्ययन बिदा देखाउँदै जाने गरेका छन् । यो समस्या नागरिकले वर्षौदेखि खेप्दै आइरहेको हो ।
जनशक्ति अभावकै कारण शल्यक्रिया मार्फत प्रसूति सेवा पनि ठप्प छ । शल्यक्रियाका लागि सम्पूर्ण उपकरण भएपनि प्रयोगमा ल्याउन सकिएको छैन । यहाँ पाउने सेवा उपलब्ध नहुँदा सदरमुकाम तानसेन, पोखरा, बुटवललगायतका विभिन्न बजारका अस्पतालमा बिरामी जानुपर्ने समस्या छ ।
अस्पतालमा नौ विशेषज्ञ डाक्टरको दरबन्दी छ । प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट एक्सरे, जनरल फिजिसियन, एनसथेसियालोजिष्ट अप्रेसन गर्दा बेहोस बनाउने, कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन्ट सर्जन, कन्सल्टटेन्ट साइक्याट्रिक्स दिमागसम्बन्धी जस्ता विशेषज्ञ सेवा तोकिएको छ । तर दरबन्दी अनुसारका डाक्टरको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन ।
अस्पतालमा एघारौँ तह ९एक जना प्रमुख मेडिकल सुपरीटेण्डेण्न डाक्टरको दरबन्दी छ । पचास शय्याको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शय्याकै भवनबाट सेवा प्रवाह भइरहेको हो । गाउँमै दरबन्दी भएर पनि सेवा सुबिधा नपाउँदा पटकपटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या भईरहेको छ ।
सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिव रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भएको छ ।
आर्थिक वर्ष ०७२–०७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७५–७–१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । भवन अभाव पनि स्वास्थ्य सेवाको बाधक बनिरहेको छ ।













