ज्योतिष दशरथ पाण्डे-
भाद्रशुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ।याे व्रत मध्याह्णकालव्यापी गर्नुपर्छ। खासगरी याे व्रत नारीहरू परसरेका वेलामा जान-अजानमा भएका पापहरूकाे नाश गर्नका लागि गरिन्छ। यस विषयमा भविष्याेत्तर पुराणको वचन छ।-- ´´अज्ञानाद् ज्ञानताे वापि नारी जाता रजस्वला । दुष्टा स्पृशति भाण्डानि गृहकर्मणि संस्थिता । प्राप्नाेति सा महापापं सर्वनारीरजस्वला।।`` अघि इन्द्रले वृत्रासुरलाई मारेपछि उनलाई ब्रह्महत्या लाग्याे र यसबाट छुट्कारा पाउने उपायकालागि ब्रह्माजीमा शरणमा गए। ब्रह्माजीले ब्रह्महत्यालाई चार भागमा बाँडिदिनुभयाे। ´´वह्नेः प्रथमजातासु ज्वालासु च नदीषु च । पर्वतेषु च राजेन्द्र नारीरजसि पार्थिव।। ``
श्रीमद्भागवतमा भने यस्तो उल्लेख छ-- ´´भूम्यम्बुद्रुमयोषिद्भ्यश्चतुर्धा व्यभजद्धरिः।।``श्री•भा•-६/ ९/६
एक भाग आगाे बाल्दाकाे पहिलाे ज्वालामा , दाेस्राे भाग नदीमा , तेस्राे भाग पर्वतमा र चौथाे भाग नारीका रजमामा राखिदिनुभयाे र इन्द्रकाे ब्रह्म हत्या छुटाइदिनुभयाे।
श्रीमद्भागवतअनुसार विश्वरूपलाई मार्दा इन्द्रलाई ब्रह्महत्यालागेकोले ब्रह्महत्यालाई ४ भाग लगाएर भूमिमा ,जलमा, वृक्षमा र नारीका रजमा बाँडेको प्रसङ्ग छ।त्यसकारण त्यही ब्रह्महत्या रजस्वला भएकी नारीमा चार दिनसम्म बस्ने हुँदा त्यसवेला नारीले अलग्ग बस्नुपर्दछ , कसैसँग सम्पर्क गर्नहुँदैन , र घरका भाँडा वर्तनहरू छुन हुँदैन ,भनिएकाे हाे। किनकि त्यस रजमा प्राणीलाई नकारात्मक असर पार्ने सूक्ष्म कीटाणुहरू बस्ने हुँदा अलग बस्नुपर्छ , भनिएकाे हाे। जान अजानमा भएका यस अवस्थाका पापबाट निवृत्त हुन यसदिन तीनसय साठी दतिवन लगाएर दन्तधावन गर्नुपर्दछ, अनि गाेबर , माटाे, पञ्चगव्य तिलकाे पिना , अमलाआदिले स्नान गरी पवित्र भएर मध्याह्नकालमा अरुन्धती सहित कश्यपादि सप्तर्षिहरूकाे पूजा गर्नुपर्दछ। सप्तर्षिहरू- ´´कश्यपाेSत्रिर्भरद्वाजाे विश्वामित्राेSथ गौतमः । जमदग्निर्वसिष्ठश्च साध्वी चैवाप्यरुन्धती।। `` १-कश्यप , २-अत्रि , ३-भरद्वाज , ४-विश्वामित्र ,५-गौतम , ६-जमदग्नि ७- वसिष्ठ समेत सप्तर्षिहरू र पतिव्रता अरुन्धती समेतकाे मध्याह्णमा पूजा गर्नुपर्दछ। पूजापछि त्यस दिन नजाेतेका भूमिमा फलेका सागपात र फलफूलहरू खाएर जीवननिर्वाह गर्नुपर्दछ। यस विषयमा उापाख्यान छ।अघि सत्य युगमा सुमित्र नामका एक ब्राह्मण थिए।तिनकी जयश्री नामकी पत्नी थिइन्। ती जयश्री सधैँ खेती पातीका काममा तल्लीन हुन्थिन्।कुनैदिन खेतीका वेला उनी रजस्वला भइछन् । खेतीपातीका काममा बाधा नहोस् , भनेर रजस्वला भएकाे कसैलाई थाहैदिइनन् र छुवाछुत बारिनन्। कालन्तरमा तिनकाे मृत्यु भयाे । सुमित्रकाे पनि मृत्यु भयाे । रजस्वलाका समयमा सम्पर्क गरेका कारण जयश्री कुकुर्नी भइन् भने ,सुमित्र गाेरु भएर त्यसै घरमा जन्मिए। पूर्व जन्मका कुनै धर्मका प्रभावले उनीहरूमा पूर्व जन्मकाे स्मृति थियाे र यस जन्ममा बाेल्न नसकेपनि सबै कुरा बुझेर व्यहार गर्न सक्तथे।तिनीहरूका छाेराकाे नाम सुमति थियाे।
एक दिन सुमित्रकाे श्राद्धकादिन छाेरा सुमतिले बिहानभरि खेतमा गाेरु जाेतेर श्राद्धका काममा लाग्दा गाेरुलाई घाँस खाेले दिन पनि भ्याएनन्। कुकुर्नीलाई पनि केही दिन भ्याएनन्। श्राद्धका लागि खिर पकाएकाे थियाे । त्याे खिरमा सर्पले विष हालेकाे कुकुर्नीले देखेर खिर खाएमा ब्राह्मणहरूकाे मृत्यु हुन्छ भन्ने विचार गरेर त्याे कुकुर्नीले सबैले देख्ने गरी खिरकाे भाँडाे छाेइदिई ।त्यसपछि बुहारीले रिसले अगुल्टाले कस्सेर हिर्काइन् र कुकुर्नीकाे कम्मर नै भाँचिदिइन् ।कुकुर्नी कुईँ-कुईँ गर्दै बाहिर गई। बुहारीले श्राद्ध पछि जुठाे पुराे समेत खान दिइनन्। बेलुका कुकुर्नी रुँदै कुईँ कुईँ गर्दै गाेरुसँग गएर सबै कुरा भनिन् ।गाेरुले पनि आज मेराे श्राद्ध अरे , मलाई दिनभरि जाेतेर केही खान पनि दिएनन्। भाेकले मर्न लागेँ । यिनीहरूले श्राद्धकाे के फल पाउलान् ,भने ।सुमतिले पशुकाे भाषा बुझ्ने विद्या पढेका हुँदा याे कुरा बुझे। अनि ता ला ! हाम्रा बुबा-आमा ता यिनीहरू पाे रहेछन् ,भनी घाँस खाेलेहरू दिएर पश्चात्ताप गरे । अब दुर्गतिमा परेका माता-पिताकाे कसरी उद्धार गर्ने भन्ने विचार गर्दै सुमति उपाय खोजीगर्न वनमा गए। वनमा ज्ञानवृद्ध एवं वयोवृद्ध सप्तर्षिहरूसँग भेट भयाे । उनीहरूले भने,- तिम्री माताले रजस्वला भएका वेला वास्ता नगरी सर्वत्र सम्पर्क गरी घरका धन्दाहरू गरेका कारण याे दशा भएकाे हाे ।
अब सात वर्ष सम्म भाद्रशुक्ल पञ्चमीका दिन पतिपत्नी सहित भएर अरुन्धती सहित कश्यपादि सप्तर्षिकाे पूजा गर र त्यस व्रतकाे उद्यापन गरी त्यसकाे फल माता पितामा समर्पण गर , माता पिताकाे सद्गतिप्राप्त हुनेछ ,भने। त्यस पछि सुमति घर आएर सपत्नीक भएर विधिपूर्वक सात वर्षसम्म याे व्रत गरेर अन्त्यमा उद्यापन गरी व्रतकाे फल माता पितामा समर्पण गरे।
यसरी व्रतकाे उद्यापन गरेपछि पिता सुमित्र ( गाेरु ) र माता जयश्री (कुकुर्नी) काे श्रापबाट मुक्त भएर उत्तम गतिमा प्राप्त भएका थिए। त्यसकारण याे ऋषिपञ्चमीकाे व्रत गर्दा रजस्वला अवस्थामा जानी नजानी भएका सम्पूर्ण पाप नाश हुने हुँदा सबैले याे व्रत गर्दा आफ्नो कल्याण हुन्छ। त्यसैले हामी पनि विधिपूर्वक ऋषिपञ्चमीको व्रत गरौं र सप्तर्षिको पूजा गरौं , हाम्रो पनि कल्याण हुन्छ।
ॐ सप्तर्षिभ्यो नमः।श्रीकृष्णार्पणमस्तु।।











