राष्ट्रिय न्युज- पाल्पाका बिभिन्न ठाँउमा ३१ ओैं विश्व आदिवासी दिवस बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । आदिवासी जनजाति महासंघ पालिका समन्वय परिषद पुर्वखोलाको आयोजना तथा पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा पालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनजातिहरूको मौलिक संस्कृतिको रूपमा रहेको पूर्वखोला ५ बिरकोट वासाको कडुवा, स्याफट देउरालीको झ्याउरे, बिरकोट हटियाको लाखे, स्याफटको सोरठी, ठुम्बासको झ्याउरे र देवीनगरको स्वागत नृत्य पर्दशन गरिएको थियो । कार्यक्रममा प्रमुख बक्ताको रूपमा बोल्नु हुँदै पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले आदिवासी जनजातिहरूको भाषा संस्कृतिको महत्व र यसको संरक्षण र पुस्तान्तरका बारेमा प्रस्ट पार्नु भएको थियो । बिशिस्ट अतिथि आदिवासी जनजाति महासंघ पूर्वखोला ईन्चार्ज तथा वडा अध्यक्ष मेहर सिं थापाले आदिवासी जनजाति अधिकार आन्दोलन, यसबाट प्राप्त उपलब्धि, पछाडि पर्नुका कारणहरू तथा यस सम्बन्धमा खेल्नु पर्ने भुमिका लगायतको बारे प्रष्ट पार्नु भयो ।
गणपति माध्यमिक बिद्यालय बिरकोटको सभाहलमा आयोजित कार्यक्रममा सल्लाहकार तथा वडा अध्यक्ष बिष्णु कुमार पल्ली, मन बहादुर सारू, रेवतीसरा घर्ती लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रम पालिका समन्वय परिषदका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, सदस्य ललिता दर्लामीको स्वागत तथा प्रेम बारघरेको सन्चालनमा भएको थियो । ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर : युएनड्रिप र आइ.एल.ओ. १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नाराका साथ मनाईएको कार्यक्रममा पूर्वखोला गाउँपालिकाका ६ वटै वडाहरूबाट करिव ३०० जनाको सहभागिता रहेको थियो ।
त्यसैगरी आदिवासी जनजाति महासंघ पालिका समन्वय परिषद माथागढीले पनि वडा नम्बर ३ को सराईमा एक कार्यक्रम आयोजना गरि मनाएको छ भने आदिवासी जनजाति महासंघ पालिका समन्वय परिषद निस्दीले भब्य रुपमा बिशेष कार्यक्रम आयोजना गरी मनाएको प्रमुख बक्ताका रुपमा सहभागी भएका तेज घर्तीले जानकारी दिनु भयो ।














