पाल्पा – एकता युवा क्लव बगनासकाली गाउँपालिका ९ चापपानी फुक्टङको आयोजनामा क्लव स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भयो । पाल्पा, स्याङजा, रुपन्देही जिल्लाका गरि ३० समूहको सहभागिता रहेको प्रतियेगितामा आदर्श युवा तथा खेलकुद मञ्च पुर्वखोला ४ देबीनगर प्रथम, जनज्योति युवा क्लव बगनासकाली ६ यम्घा द्धितिय र आयोजक समूह एकता युवा क्लव तृतीय भएको छ ।
प्रथम द्धितिय र तृतीय हुने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेको हो । पुरस्कार बितरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले खेलकुदका माध्यमबाट युवाहरुलाई एकताबद्ध गराई समुदायको हितमा प्रयोग गर्न सकिने भन्नुभयो ।
प्रतियोगितामा बेस्ट स्पाइकरको अवार्ड आदर्श युवा तथा खेलकुद मञ्च देबीनगरका तारा बहादुर दिशा मगरले प्राप्त गरेको हो। त्यस्तै बेस्ट प्लेयरको रुपमा फुलबारी युवा क्लव बझादीका दिपेन झेडी र बेस्ट लिफ्टरको अवार्ड गुँगा युवा क्लवका सुदिप गाहाले प्राप्त गरे । क्लवका उपाध्यक्ष बीर बहादुर मल्लको स्वागतबाट चलेको कार्यक्रममा वडा सदस्य कमल बिक्रम खाँणले यसप्रकारको खेल कार्यक्रमहरु समयसमयमा हुनुपर्ने बताउनुभयो । क्लवका संस्थापक अध्यक्ष रणप्रताप खाँणले एकता युवा क्लवले स्थापनाको समयदेखि नै बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा भलिवल प्रतियोगिताका लागि देश बिदेशमा रही सहयोग गर्ने सहयोगी ब्यक्तिहरुलाई सम्मान समेत भएको थियो ।
भलिवल प्रतियोगिताको समापन समारोह माधव शाहीको सञ्चालन र क्लवका अध्यक्ष भेषराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।













