राष्ट्रिय न्युज- रामपुर नगरपालिकमा मेयरसँग बालबालिका एवम माध्यमिक शिक्षा परीक्षा एसइई २०८१ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको समस्या पहिचान संगै आवश्यक सुझाव संकलन गर्नका लागि कार्यक्रम गरिएको हो । रामपुर नगरपालिका वडा नम्बर ६ विजयपुर स्थित दरैठाँटी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा नगर भित्रको विद्यालयमा अध्ययनरत बालबालिकासँग नगर प्रमुख रमण थापाले अन्तरक्रिया गर्नु भएको थियो ।
सहभागी बालबालिकाहरुले बालबालिकाको क्षेत्रमा आगामी वर्ष हुने कार्यक्रम, बजेट, दिवा खाजा, बालबालिकाको प्रतिभा प्रस्फुटनमा नगरले लिएको नीति, लागुपदार्थ दुर्व्यासनी न्यूनिकरण, सामुदायिक सँगै अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम सञ्चालनका विषयमा आफ्ना जिज्ञासा राखेका थिए । साथै छात्राहरुले विद्यालयका लागि वितरण गरिएका सेनेटरी प्याडको गुणस्तरको बारेमा पनि प्रश्न गरेका थिए ।
बालबालिकाको प्रश्न र जिज्ञासा मेटाउँदै नगर प्रमुख थापाले बालबालिका भविष्यको आधार भएकाले उनीहरुको समस्या र धारणा बुझ्न कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो । उहाँले पूर्वाधार विकास सँगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासन लागु गर्नका लागि सुरु भएको अभियान मार्फत बालबालिकाको क्षेत्रमा थप कार्य गर्ने बताउनुभयो ।असहाय बालबालिकाको संरक्षणका लागि नगरपालिकाले आफ्नो तर्फबाट र अन्य संघ संस्था सँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षा बाट वञ्चित हुनु नपर्ने बताउनुभयो । बालबालिकाको सुझावलाई पूर्ण पालना गर्दै नगरपालिका अघि बढ्ने बताउँदै थापाले शिक्षा आर्जन गरी देशको लागि योगदान गर्छु भन्ने धारणाका साथ अघि बढ्न बालबालिकालाई सुझाव दिनु भएको थियो । कार्यक्रमको अवसरमा माध्यमिक शिक्षा परीक्षा एसईईमा नगर भित्रका विद्यालय बाट ३.६ जिपिए वा सो भन्दा माथि अंक ल्याउने ८७ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ ।
रामतुलसी नमुना माविबाट चार जिपिए ल्याउन सफल अनुजा श्रेष्ठ र विविशा घिमिरे सहित १२ वटा विद्यालयका विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको हो । चार जिपिए ल्याउन सफल दुई विद्यार्थीलाई नगद पाँच हजार सहित सम्मान पत्र र ३ दशमलव ६ जिपिए वा सो भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई नगद दुई हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।
रामपुर नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, नगर प्रवक्ता कपिल बहादुर खाँण सहितका जनप्रतिनिधिहरुले सम्मान प्रदान गर्नु भएको थियो । साथै एसईईमा ए प्लस सहित नतिजा ल्याउन सफल नगर भित्रका १२ विद्यालयलाई पनि नगरपालिकाले सम्मान गरेको छ ।कार्यक्रमको अवसरमा नगर भित्रका ५२ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका ३ सय ३६ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रम मार्फत छात्रवृति प्रदान गरिएको थियो ।
प्राविधिक धारका २३ जना विद्यार्थीलाई चार/चार हजार र अन्य साधारण तर्फका विद्याथीहरुलाई दुई हजार पाँच सयका दरले ११ लाख ९९ हजार चार सय रुपैयाँका बराबरको छात्रवृति प्रदान गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।मेयरसँग बालबालिका कार्यक्रमको सहजिकरण नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नु भएको थियो । साथै बालबालिकालाई विभिन्न खेलहरु पनि खेलाईएको थियो । साथै बालबालिकाहरुको प्रतिभा समेत प्रस्तुत गरिएको थियो । नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र शिक्षाका प्राविधिक सहायक अनिता कुँवरले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।













