लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च शिक्षा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत, संरचनात्मक र व्यवहारिक सुधारमा प्रदेश सरकार सक्रिय रहेको बताउनु भएको छ । उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार र पब्लिक क्याम्पसबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री आचार्यले पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने माग निरन्तर संघीय सरकारसमक्ष राखिँदै आएको जानकारी समेत गराउनु भयो ।
‘हामीले बारम्बार संघीय सरकारसँग भनिरहेका छौँ । पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिइयोस्’, उंहाले भन्नु भयो , ‘एक हिसाबले हेर्दा माध्यमिक शिक्षा (कक्षा १२) सम्म हामीले लगानी गरेका छौँ, तर कानूनले हामीलाई चिनेको छैन । कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई दिइएको छ । सम्पूर्ण उच्च शिक्षाको जिम्मा संघीय सरकारसँग छ । यस्तो अवस्थामै पनि हामीले आफ्नो धर्म निर्वाह गर्दै आएका छौँ ।’
मुख्यमन्त्री आचार्यले शिक्षा ऐन आउँदा स्थिति अझ स्पष्ट हुने विश्वास व्यक्त गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्रमा अधिकार खोजिरहेको बताउदै 'पब्लिक क्याम्पसहरूले ग्रामीण क्षेत्रमा उच्च शिक्षाको ज्योति फिजाउन, देशभरका लाखौं युवालाई शिक्षित बनाउन योगदान रहेको उल्लेख गर्नु भयो ।













