नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ । नवौँ नम्बरमा ब्याटिङ गरेका करण केसीले अविजित ६५ रन बनाएपछि लिग २ शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । करणले ४१ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा अविजित ६५ रन बनाए । उनी म्यान अफ द म्याच पनि घोषित भए ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको हो । १९२ रनमा ७ विकेट गुमाएको अवस्थामा करण र गुल्सन झाले आठौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुल्सनले ३० बल खेल्दै ३ चौका र ३ छक्का मदतमा ४२ रन योगदान गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए । गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन बनाए ।
स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए । ज्याक जार्भिस र माइकल लिस्कले २-२ तथा जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए ।
त्यसअघि डुन्डीमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो ।स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएक थिए ।नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २-२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
यो जितसँगै नेपाल १३ खेलबाट ८ अंक जोडेर अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ। भने स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।











