राष्ट्रिय न्युज ।
पाल्पा– नेपाली सेनाले तयार गरेको उद्यान माथागढी गाउँपालिकालाई एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच नेपाली सेनाले माथागढी परिसरमा निर्माण सम्पन्न गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सो अवसरमा मध्यपश्चित पृतनापति उपरथी प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यम चिदीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
नेपाली सेनाले सीघ्र प्रभावी योजना अन्तर्गत माथागढी गाउँपालिकाको वडा नं. ५ स्थित माथागढी परिसरमा ढुङ्गा बिछ्याउने र सौन्दर्यकरण गर्ने काम गरेर पालिकालाई हस्तान्तरण गरिएको पुनले बताउनुभयो । नेपाल–अङ्ग्रेज युद्ध तथा नेपाल एकीकरणका बेलामा प्रयोग भएका ऐतिहासिक स्थलको प्रचार एवं संरक्षण गर्ने उद्देश्यले माथागढी परिसरको सौन्दर्यकरण गर्ने काम सेनाले गरेको उपरथी पुनले बताउनुभयो । उक्त संरचना निर्माण गर्न तानसेनस्थित दि फेमस महिन्द्र दल गणको अथक प्रयास रहेको पुनले बताउनुभयो ।
सो अवसरमा माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले स्थानीय तह, सेना, प्रदेश र सङ्घीय सरकारले यस्ता संरचनाको विकास र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । ऐतिहासिक स्थलको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी दिन सकिने उहाँले बताउनुभयो । माथागढी ऐतिहासिक र सामरिक महत्वको स्थान भएकाले यसको विकास र संरक्षणमा पालिकाले समेत ध्यान दिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना सेनाले विपद्का बेलामा मात्र होइन, ऐतिहासिक स्थलको जगेर्ना र विकासमा ध्यान दिएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका २२ नं. बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का, दि फेमस महिन्द्र दल गणका गणपति प्रमुख सेनानी भुपेन्द्र गुरुङ्, जिल्ला प्रहरी कार्यालय पाल्पा, शसत्र प्रहरी बल पाल्पा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो ।
पाल्पा जिल्लाको दक्षिणी भागमा यो ऐतिहासिक मन्दिरको रहेको छ। जुन जिल्लाकै उच्च भाग मध्ये एकमा पर्दछ । जसलाई “माथा” भनिन्छ भने सोही ठाँउमा मध्यकालीन समयमा युद्द लड्न बनाईएको गढी पनि रहेको किम्बदन्ती छ। जसको अर्थ माथा भनेको शिर, गढी भनेको किल्ला हो। सोही इतिहासलाई केलाउदै पछिल्लो संघीय संरचना अन्तर्गत यस गाँउपालिकाको नामकरण माथागढी गाँउपालिका नामाकरण राखिएको हो । यस्तो ठाँउको संरक्षण गर्न नेपाली सेनाले जुन सक्रियता देखायो अति नै सराहनिय रहेको छ । माथा क्षेत्रको प्रचार प्रसार गरि आन्तरिक पर्यटक बिस्तार गर्न सके थप चहलपहल बढ्ने छ भने गाँउपालिका हरेक बर्ष बजेट विनियोजित गरि माथाको बिकासका लागि प्रयत्न गरिरहेको छ ।













