वैशाख १६ ।
पाल्पा, रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नम्बर ७ का महिलाहरुको लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महिला माथि हुने हरेक हिंसालाई कानुनी उपचार मार्फत समाधान गर्नु पर्ने बताउनुभयो । उहाँले व्यक्तिगत व्यवहार र आचरणका कारण घर परिवार र समाजमा हिंसा हुने भन्दै यसको न्यूनीकरणका लागि सबै सचेत हुनु पर्नेमा जोड दिदै हिंसा रहित समाज र नगर निर्माणका लागि सबै नगरबासी प्रतिबद्ध भएर लाग्न समेत आग्रह गर्नु भएको छ ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले समाजमा व्याप्त हिंसाको न्यूनीकरणका लागि सचेत हुन आवश्यक रहेको बताउदै हिंसा सहेर बस्दा हिंसालाई थप बढवा मिल्ने भन्दै यसलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने बताउनु भएको छ । चेमन प्रकाश पोखरेलले विकृतिले विभिन्न नकारात्मक घटना निम्त्याउने भन्दै नकरात्मक गतिविधिबाट पछाडि हट्नु पर्ने बताउनुभयो । बाल विवाह र बहुविवाहका कारण महिला हिंसा बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भएको छ । वडा अध्यक्ष दोवराज तिवारीले वडामा महिला हिंसाका घटना बढ्नु चुनौतीको रुपमा रहेको बताउनुभयो । महिला हिंसाका कारण आत्महत्या र सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिका वडा नं. ७ को योगहल किसानबारीमा भएको कार्यक्रममा हिंसाको स्रोत, यसको पहिचान, हिंसा हुनुको कारण र असर, कानुनी उपचारको प्रक्रिया र प्रावधान, हिंसाबाट पिडितको उद्दारको व्यवस्था, सजाय सम्बन्धि व्यवस्थाका विषयमा बताईएको थियो । तालिमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखाका प्रमुख पुजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसिका फोकल पर्सन सरस्वती पौडेलले गर्नु भएको थियो ।
रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । न्यायीक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।













