पाल्पा, व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम रामपुर वडा नं.९ पाल्पामा सम्पन्न भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम रामपुर नगरपालिकाको आयोजनामा बुधवार सचेतना कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले राज्यको नीति तथा विभिन्न कार्यक्रम तय गर्नका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण रहेको बताउनुभयो । व्यक्तिलाई राज्यले दिने सेवा सुविधा र नागरिकका लागि तय गर्ने विभिन्न कार्यक्रम निर्माण गर्न सहज हुने बताउनुभयो । व्यक्तिगत घटना दर्ता अनिवार्य गर्नु पर्ने भन्दै उहाँले कानुनी प्रावधान अनुसार समयमै गर्न आवश्यक रहेको औँल्याउनुभयो । सानो लापरवाही र अभिभावकको वेवास्ताले बालबालिकाको भविष्यमा समेत असर पुग्न सक्ने भएकाले घटना दर्ता गर्दा सचेत हुनु पर्ने बताउनुभयो ।
वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाले वडा नं.९ को कार्यालय भवन जब्गादीमा भएको कार्यक्रममा बोल्दै व्यक्तिगत घटना दर्ता समयमै गर्नु पर्ने र यस वडाले सञ्चालन गर्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो । साथै व्यक्तिगत घटना दर्ता सप्ताहले घटना दर्ताका लागि सहज रुपमा कार्यान्वयन गर्न सजिलो हुने बताउनुभयो ।
यस्तै रामपुर नगरपालिका वडा नं.३ का सचिव मदन पराजुलीले घटना दर्ता गर्दा विभिन्न त्रुटि हुने भन्दै संमयमित भएर समयमै घटना दर्ता गराउनु पर्ने बताउनुभयो । यस्तै जनशान्ती माध्यमिक विद्यालय रामपुर ९ पाल्पाका प्राधानाध्यापक ढक बहादुर सिंजालीले अविभावकविहिन बालबालिकाको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न समेत असहज भएको भन्दै यस्ता समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका पञ्जिकरण शाखाका प्रमुख प्रतिमा घिमिरेले विभिन्न व्यक्तिगत घटना दर्ता गर्न छुटेमा राज्यले प्रदान गर्ने विभिन्न सेवा सुविधाबाट वञ्चित हुने भएकाले जन्मदर्ता, विवहा दर्ता, सम्बन्ध विच्छेद, बसाई सराई र मृत्यु दर्ता ३५ दिन भित्रै गर्नु पर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता, पञ्जिकरण शाखाका प्रमुख प्रतिमा घिमरेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा नं.९ का विभिन्न टोल विकास संस्था, विद्यालयका शिक्षक, स्वयमसेविका लगायतको सहभागिता रहेको थियो । नेपाल सरकारले हरेक वर्ष बैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम गर्दै आएको छ ।












