पाल्पा, तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । चैत २२ गतेदेखि वैशाख ३ गतेसम्मका लागि तय भएको महोत्सव चैत २७ गते बुधबारका दिन दिउँसोदेखि परेको वर्षा र हावाहुरीका कारण महोत्सव प्रभावित बनेको हो ।
कार्यक्रमको तयारी भइरहेको बेला अचानक असिनासहित वर्षा र हावाहुरी चलेको कारणले गर्दा सांस्कृतिक कार्यक्रम स्थगित गरि चैत २८ अर्थात आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । तर बुधबार राती नै ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायत ढलेका हुनाले महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान समेत हावाले उडाएको व्यापारीहरुले बताए । हावाहुरीले मानवीय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।
वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने महोत्सव पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए । उनका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको र क्षति यकिन विवरण संकलन गर्ने काम भइरहेको जानकारी गराएका छन् ।















