बुटवल
लोक कला संस्कृतिको संरक्षण तथा नव प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगर पालिकाको प्रवर्द्धनमा यही चैतको १५ र १६ गते बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता खनालले जितेकी छन्।
बुटवल देवीनगर स्थित थ्री पोइन्ट रिसोर्ट गार्डेनमा सम्पन्न उक्त प्रतियोगिताको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले लोक कला संस्कृतिको संरक्षण गर्नुपर्ने दायित्व हामी सबैको हो भन्दै नयाँ पुस्तामा आफ्नोपनको ज्ञान हुनुपर्ने बताउनुभयो । यसको लागि उपमहानगरले बिभिन्न खालका रचनात्मक कामहरू गरेको र भविष्यमा पनि यस्ता खालका कार्यक्रमलाई नगरले अझै शसक्त ढङ्गले अगाडि बढाउने कुरा बताउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, बुटवल उपमहानगर पालिकाका उपनिर्देशक दामोदर ज्ञवाली, प्रतिष्ठानका केन्द्रिय सदस्य डील्ली नारायण पाण्डे, सीता राना, प्रचण्ड जि सी, पुरुषोत्तम भण्डारी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संयोजक रेशम खनालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
प्रतियोगितामा बसन्ता खनालले प्रथम स्थान, प्रेम बिश्वकर्माले द्वितीय स्थान, भुवन अधिकारीले तृतीय स्थान साथै अर्जुन पाण्डे र सुनिता वि सी ले सान्त्वना स्थान हासिल गरेका छन्। विजेता बनेसङ्गै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले प्रमाणपत्र सँगै क्रमशः नगद रु २००००, रु १५०००,रु १०००० र रु ५००० प्राप्त गरेका छन् भने चन्द्र शर्मा, प्रचण्ड जि सी , शुरेश सेन्चुरी र डिल्ली नारायण पाण्डेले उक्त प्रतियोगिताको निर्णायकको भूमिका निभाउनु भएको थियो ।
संस्थाका अध्यक्ष विजय सापकोटाको अध्यक्षता, प्रथम उपाध्यक्ष ऋतु थापाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विधान कार्कीले गर्नुभएको थियो ।












