पाल्पा –पाल्पा अस्पताल तानसेनले पहिलो पटक औपचारिक रुपमा वार्षिकोत्सव मनाएको छ । प्राप्त प्रमाणहरुका आधारमा वि.स. १९६९ मा स्थापना भएको अस्पतालको विहीबार एक सय १३ र्औ वार्षिकोत्सव मनाइएको हो ।
लुम्विनी प्रदेश सरकार र पाल्पा अस्पताल विकास समितिको लगानीमा पाल्पा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष निर्माणका लागि भवन निर्माणको काम सुरु भएको छ । भवनको शिलान्यास गर्नुहुँदै लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पाल्पा अस्पतालमा आउने बिरामीले आधारभूत सेवा दिने गरी भवन निर्माणको लागि वजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले आफू मन्त्री भएलगत्तै अस्पतालमा अनुगमनका क्रममा अप्रेसन र आकस्मिक कक्षको अभाव देखेपछि वजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । पाँच महिनाभित्र सक्ने गरी कुल ५६ लाख २५ हजार १७३ रुपियाँमा भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको साथै भवन बनेपछि गम्भीर बिरामीले अस्पतालभित्रै सेवा पाउने मन्त्री सारुले बताउनुभयो ।
भवनको अभावमा आकस्मिक र अप्रेसन कक्ष नहुँदा गम्भीर बिरामी भएका बिरामी अस्पतालबाट अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । भवन निर्माणका लागि मोहनकन्या माविको छात्राबास रहेको क्षेत्र अस्पतालले माग गर्दै आएपनि त्यसको निर्णय भने हालसम्म हुन सकेको छैन । अस्पताल विकास समितिका अध्यक्ष गुँरास आत्रेयले अस्पतालले पुरानो भवन भएपनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको साथै पाल्पा अस्पताल सबै नागरिकको अस्पताल भएकाले दिगो विकास गर्न सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो ।
समारोहका प्रमुख अतिथि एवं लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पतालको सेवामा चौतर्फी विकासका र सरकारले स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न पहल गरिरहेको साथै देखिने गरी प्रदेश सरकारको पहल उपलब्धीमुलक साबित भएको जिकिर गर्नुभयो। उहाँले लोकतन्त्र स्थापनाकालपछि विभिन्न सकारात्मक परिवर्तन आएपनि जनतामा निराशा रहेको र निराशालाई आसामा बदल्नु पर्नेमा जोड दिनुभयो।
समारोहमा अस्पतालको स्वास्थ्य सेवामा विगतमा र बर्तमान समयमा सेवा प्रदान गर्नुहुने व्यक्तिहरुलाई सम्मान गरिनुका साथै अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा. रामेश्वर देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
वार्षिकोत्सवको अवसरमा लुम्विनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलगायतले शुभकामना दिनुभयो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष आत्रेयको अध्यक्षता, समितिका सदस्य एवं तानसेन वडा नं. ११ का वडाअध्यक्ष यादवसिंह कार्कीको स्वागत मन्तव्य रहेको समारोह समितिका सदस्य शशी श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।












